Logo

विद्यालय पुनः बन्द



बैतडी, मंसिर २० । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीका दुई स्थानीय तहमा सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन् । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाका विद्यालय पुनः बन्द भएका हुन् ।

कोरोना सङ्क्रमण फैलन नदिने यी दुवै स्थानीय तहमा लकडाउन घोषणा गरेकाले विद्यालय पुनः बन्द भएका हुन् । दशरथचन्द नगरपालिकाकाले मङ्सिर २२ गतेसम्म लकडाउन गरेकाले विद्यालय पनि बन्द रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए । उनले भने, “दुई दिन सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन् ।”

यस्तै डिलाशैनी गाउँपालिकाले पनि मङ्सिर २६ गतेसम्मका लागि लकडाउन गरेको छ । लकडाउन गरेकाले गाउँपालिकाभित्रका विद्यालय बन्द भएका प्र्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले बताए । जिल्लाका अन्य आठ वटा स्थानीय तहहरुमा शिक्षण सिकाइ निर्देशिका २०७७ अनुसार विद्यालय सञ्चालनमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए । उनले भने, “जोखिम कम भएका स्थानीय तहका विद्यालयमा पठनपाठन भइरहेको छ ।”

बैतडीमा हालसम्म ५७० मा सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये ६५ जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ४२ जना रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिकामा १६, पाटन नगरपालिका चार, पुर्चौंडी नगरपालिकामा दुई र दोगडाकेदार गाउँपालिकामा एक जना सक्रिय सङ्क्रमित रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्