Logo

सरकारले कोरोनाविरुद्धको खोप ल्याउने भयो, शुरुमा २० प्रतिशत जनसंख्यालाई



काठमाडौं, २० मंसिर । सरकारले कोरोना भाइरसविरुद्धको खोप ल्याउने भएको छ । खोप ल्याउने तयारी भएको र शुरुमा देशको कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने जनाइएको छ ।

स्वास्थ्य मन्त्रालय अन्र्तगतको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार सहुलियत दरमा २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप ल्याउन लागिएको हो । खोप ल्याउनका लागि ८ वटा उपसमिति समेत बनाइएको र डब्लुएचओ, गाभी र सेपी नामक तीन संगठनको कोभ्याक्स सुविधा नामक संयन्त्र अन्र्तगत सहुलियत दरमा खोप ल्याइने बताए । तर, कुन खोप ल्याउने निश्चित भइनसकेको बताए । उनले भने, ‘अझै खोप परीक्षणका क्रममा भएकाले कुन ल्याउने निश्चित भइसकेको छैन ।’ खोपको अन्तिम चरणको परीक्षण सफल भएपछि ल्याउने जानकारी दिए ।

कोभ्याक्स सुविधा अन्तर्गतको खोप गरिब तथा कम आय भएका मुलुकलाई निःशुल्क प्रदान गरिनेछ । यही खोप नेपालले निःशुल्क ल्याउन लागेको हो ।

विश्वमा रुसको स्पुतनिक, बेलायतको अक्सफोर्ड, मोर्डना र फाइजर कम्पनिको खोप अन्तिम परीक्षणका क्रममा छन् । जसमध्ये रुसमा खोप लगाउन शुरु भइसकेको छ । बेलायत र बहराइनले फाइजरको खोप लगाउन शुरु गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्