Logo

नेकपा बैठकमा स्थायी कमिटी बैठक रोक्ने र गर्ने रस्साकस्सी



काठमाडौं, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीको आज बसेको सचिवालय बैठकमा पनि चर्काचर्की भयो । आजको बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गरे । उनले सचिवालयमा यसअघि प्रस्तुत अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड स्वयंको प्रस्तावबारे छलफल अगाडि बढाए । त्यसबारे नेताहरुले धारणा राख्न शुरु गरे ।

बैठकमा प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रस्तावबारे समिक्षा गरे ।उनीहरुले स्थायी कमिटी बैठकमा लगेर पार्टीको समस्याको निकास निकाल्न प्रस्ताव गरे । तर, ओलीले स्थायी कमिटी बैठकको तयारी पूरा नभएको जिकिर गर्दै रोक्न खोजे । विश्वस्त स्रोतका अनुसार ओलीले स्थायी कमिटीको तयारीका लागि केही समय सार्न समेत आग्रह गरे । उनले आफूविरुद्ध प्रचण्डसहितका नेताहरुबाट घेराबन्दी भएको, काम गर्न नदिएको जस्ता विषयहरु उठाए ।

ओलीले स्थायी कमिटी बैठक रोक्न गरेको आग्रहलाई प्रचण्डसहितका पाँच जना सचिवालय सदस्यहरुले अस्वीकार गरे । उनीहरुले पार्टी विधि प्रक्रिया अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए । स्थायी कमिटीबाट निकास निकाल्नुपर्नेमा जोड दिए । ओलीले सहमति गरेर दुई अध्यक्षको साझा प्रस्ताव तयार गर्नुपर्ने भनेपनि दस्तावेजका रुपमा रहिसकेकाले छलफलका लागि अगाडि बढ्नुपर्नेमा प्रचण्डसहितका नेताहरुको भनाई रह्यो ।

बारम्बार स्थायी कमिटी बैठक रोक्न खोज्दा पनि ओलीले सकेनन् । उनी निकटस्थ सचिवालय सदस्य इश्वर पोखरेलले पनि प्रस्ताव प्रस्तुत भइसकेकाले छलफलमा जान सकिने बताए । महासचिव विष्णु पौडेलले पनि सचिवालय नै बिघटनको प्रस्ताव गरे । उनले पार्टीमा नयाँ ढंगले जाने गरी सचिवालयको पुर्नगठनमा जोड दिए । तर, ओलीविरोधी मोर्चाका नेताहरुले त्यस्तो सम्भव नभएको भने ।

आजको बैठकमा ओलीले प्रचण्डसहितको मोर्चाको चर्को आलोचना गरेको बुझिएको छ । उनले आफूलाई हटाउन खोजिएको भन्दै असन्तुष्टि पोखे । तपाईंहरु मलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन खोजिरहनुभएको छ, तर म दुवै पद छाड्दिनँ, ओलीको भनाई उदृत गर्दै एक सचिवालय सदस्यले रिपोर्टर्स नेपाललाई भने । ओलीले आफू सहमतिको पक्षमा रहेपनि बखेडा झिकिएको भन्दै असन्तुष्टि पोखे ।



प्रतिक्रिया दिनुहोस्