Logo

ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्दिन भनेपछि…



काठमाडौं, २० मंसिर । ‘मलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन खोजिरहनुभएको होला तर म दुवै पद छाड्दिनँ,’ आज नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा रातो ज्याकेटमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले भने । उनले पार्टीभित्र बहुमतका आधारमा आफूलाई हटाउन नसकिने समेत बताए । ओलीले अडान नछाड्ने संकेत गर्दै पार्टीको एकता महाधिवेशनसम्म आफू अध्यक्षमा रहने र अर्को संसदीय चुनाव नभएसम्म प्रधानमन्त्री हुने स्पष्ट पारे ।

ओलीले आफू सधै पदमा रहिरहने नभनेको र आगामी महाधिवेशन र संसदीय चुनावपछि पार्टी नेतृत्व र सरकारको नेतृत्व दुवै हस्तान्तरण गर्न तयार रहेको बताए । विश्वस्त स्रोतका अनुसार ओलीले विगतमा जस्तै पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न आफू तयार रहेको बताए । उनले पार्टीभित्र आफूलाई घेराबन्दी पारी अप्ठ्यारो परिस्थिति सृजना गरी पद छाड्न वाध्य पार्न खोजिएकोमा त्यसको सामना गर्ने चुनौती समेत दिए ।

‘तपाईंहरु मलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन खोजिरहनुभएको छ, तर म दुवै पद छाड्दिनँ,’ ओलीको भनाई उदृत गर्दै एक सचिवालय सदस्यले रिपोर्टर्स नेपाललाई भने । ओलीले आफू सहमतिको पक्षमा रहेपनि बखेडा झिकिएको भन्दै असन्तुष्टि पोखे । उनले पार्टीका अर्का अध्यक्ष प्रचण्डलगायत विरोधी समूहलाई घुमाउरो पाराले चेतावनी दिए ।

स्थायी कमिटीलगायत पार्टी कमिटी सबै अन्तरिम भन्दै त्यसको निर्णयमाथि नै चुनौती दिए । उनले स्थायी कमिटी काम नलाग्ने भइसकेको समेत भने । स्थायी कमिटीमा पार्टी अध्यक्षद्वयको प्रस्ताव छलफलका लागि लगिने तय हुँदा ओलीले यस्तो बताएपछि उनीलगायत समूहले सहभागिता नजनाउने सम्भावना बढेको छ । यसले नेकपाभित्रको विवादले झन् उग्र रुप लिने निश्तिप्रायः भएको छ । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओली अल्पमतमा छन् । उनले अल्पमतमा हुने जान्दा जान्दै आफूले पार्टी एकीकरणका लागि त्याग गरेको सुनाए ।

ओलीलाई अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद छाड्न लगाएर सहमति निकाल्ने प्रयास भइरहँदा उनले कुनैपनि पद नछाड्ने अडान लिएका छन् । यसले नेकपाभित्रको विवादलाई अझ जटिल मोडमा लगेको छ ।



प्रतिक्रिया दिनुहोस्