Logo

ओली–दाहाल मिलनबिन्दु खोजी गर्दै



काठमाडौं, मंसिर २५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किएको बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार महत्वपूर्ण भेटघाट र छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा ठोस सहमति नभए पनि दुवै अध्यक्ष विवाद समाधानको मिलनबिन्दु खोज्नुपर्नेमा सहमत भएको बताइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली अर्का अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रस्ताव खारेज हुनुपर्ने अडानमा छन् । तर दाहालले सो प्रस्ताव सचिवालय हुँदै स्थायी कमिटीमा समेत पेस गरेपछि पार्टीभित्रको विवाद झन् चर्किएको हो ।पार्टीभित्रको विवाद चर्किएको बेला दुई अध्यक्षबीच छलफल हुनु आफैंमा सकारात्मक विषय रहेको नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले बताए । दुई अध्यक्षबीच लामो समयदेखि छलफल नहुँदा कतिपय विषयमा मनमुटाव भए पनि उहाहरूबीच सुरु भएको छलफलले विवाद समाधानको सूत्र खोज्ने विश्वास पलाएको पौडेलले बताए ।

गत शनिबार स्थायी कमिटी बैठक बसे पनि प्रधानमन्त्री ओली सहभागी भएका थिएनन् । दाहालले पेस गरेको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिँदै ओलीले त्यसमा छलफल गर्नै नसकिने अडान लिँदै आएका छन् । स्थायी कमिटीको बैठक २८ मंसिरका लागि तोकिएको छ । त्यसअघि नै दुई अध्यक्षका बीचमा छलफल गरेर विवाद समाधान गर्दै साझा मिलनबिन्दुको खोजी सुरु भएको हो ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको संकट समाधानका लागि आन्तरिक र अनौपचारिक छलफल तथा गृहकार्य जारी नै रहने स्थायी कमिटीको निर्णयअनुसार शीर्ष नेताहरू अगाडि बढिरहेको बताए ।

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले पेस गरेको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नआउने अडान आफ्नो लिखित पत्रमार्फत स्थायी कमिटीलाई जानकारी गराइसकेका छन् । दुवै अध्यक्षले एकले अर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि दुवैलाई खारेज वा स्थगित गरी साझा प्रस्ताव तयार गर्नुपर्ने अडान ओलीको रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्