उपचारका लागि कोरिया जान ठिक्क परेका पूर्व राजदूत कमानसिंह लामाको निधन


काठमाडौं, २५ मंसिर । पूर्व राजदूत कमानसिंह लामाको निधन भएको छ । उनी लामो समयदेखि अस्वस्थ थिए । पछिल्लो समय कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका उनको गएराति निधन भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका लामालाई १० मंसिरमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । केही समय अघि उनले मृगौलाको क्यान्सरको उपचार गराएका थिए । मधुमेह र उच्च रक्तचापको पनि समस्या थियो ।

उपचारका लागि उनलाई कोरिया लाने तयारी भएको थियो । त्यसका लागि विशेष भीसाको आवेदन समेत दिएका थिए ।

लामा काभ्रेका पुराना बामपन्थी नेता हुन् । उनी दुईपटक सांसद निर्वाचित भए । चार वर्षसम्म दक्षिण कोरियाका लागि राजदूत पनि भए ।