बलात्कार मिलापत्रमा ६ पक्राउ


विराटनगर, मंसिर २७ । बलात्कार घटनामा मिलापत्र गराउन संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। मोरङको धनपालथान गाउँपालिका–५ की २१ वर्षीया युवती भदौ २४ गते बलात्कृत भएको भन्दै असोज २५ गते इलाका प्रहरी कार्यालय रंगेलीमा किटानी जाहेरी परेको थियो।

त्यही जाहेरीका आधारमा प्रहरीले मिलापत्र गराउनेमध्येका गाउँलेलाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धनपालथान–५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली–१ का ६७ वर्षीय जगतनारायण खवास र बेलबारी–८ का ५३ वर्षीय मथालु खवास छन्। तर, मिलापत्र गराउन भूमिका रहेका धनपालथान–५ की वडा सदस्य नेपालदेवी खवास र बेलबारी–८ का वडा सदस्य प्रवीणकुमार खवास पक्राउ परेका छैनन्।

मोरङ जिल्ला प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले बलात्कार घटनामा भेला भई गाउँलेको भेला (पञ्चायती) बसेर मिलापत्र गराउनेमध्येका ६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

‘मिलापत्रमा जनप्रतिनिधिसहित अरू पनि मुछिएका छन्’, डीएसपी राईले भने, ‘तर, फरार रहेका कारण खोजी जारी छ।’ पक्राउ परेकाविरुद्ध जघन्य अपराधलाई ढाकछोप गरेको कसुरमा शुक्रबार म्याद थप गरी अनुसन्धान थालिएको राईले बताए। बेलबारी–८ का ३३ वर्षीय सुरेशकुमार खवासले धान खेतमा युरिया मल लगाउन साथी भन्दै लिएर गएका युवतीलाई धनपालथान–५ स्थित नहरमा बलात्कार गरेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।