Logo

दीपेन्द्रसँग विवाहको कुरा चलेका यी महिलाहरु कहाँ छन्



काठमाडौं, २७ मंसिर । दरबार हत्याकाण्ड भएको १९ वर्ष बितिसकेको छ । उक्त हत्याकाण्डमा विभिन्न शंका उपशंका भएपनि सरकारी प्रतिवेदनले दोष पूर्व युवराज दीपेन्द्र शाहलाई देखाएको छ । उनको विवाहको कुरा चल्दै थियो । दीपेन्द्र जसलाई चाहन्थे उसलाई उनकी आमा तत्कालिन रानी ऐश्वर्या चाहन्नथिइन् ।

दीपेन्द्रले युवराज्ञी बनाउन चाहेको तर उनकी आमा ऐश्वर्याले दरबारमा दुलही बनाएर भित्राउन नचाहेको राप्रपा अध्यक्ष पशुपति शमशेर राणाकी छोरी देवयानी राणा हुन् । देवयानी चन्द्र शमशेरपट्टिकी हुन् । रानी ऐश्वर्या जुद्ध शमशेरकी खलक हुन् । यी दुई खलकको श्रेणी र टकरावका कारण पनि कुरा मिल्न नसकेको हो ।

देवयानीसँग दीपेन्द्र दरबार हत्याकाण्डको केही समय अघि सम्म पनि टेलिफोन सम्पर्कमा रहेको बुझिएको छ । उक्त हत्याकाण्डपछि देवयानीप्रति निकै चासो भयो ।
देवयानीले भारतीय नागरिकसँग विवाह गरिन् । ऐश्वर्य सिंहसँग उनको विवाह भएको १३ वर्ष बितिसकेको छ । ऐश्वर्य तत्कालिन भारतीय मानव संशाधनमन्त्री अर्जुन सिंहका नाति हुन् । यी दुईको विवाहमा तत्कालिन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धी समेत पुगेका थिए । डा. करण सिंह देखि भुटानका पूर्व राजा जिग्मे सिंगे वाङचुक पनि पुगेका थिए । तर, निम्तो गरिएको तत्कालिन राजा ज्ञानेन्द्र शाह विवाहमा सहभागी भएनन् । भारतभरका पूर्व राजखानदानहरु विवाहमा जमघट भएका थिए ।

विवाहको समयमा देवयानी ३६ वर्षकी थिइन् । ऐश्वर्य भने उनीभन्दा चार वर्षले कान्छा ३२ वर्षका थिए । दरबार हत्याकाण्डको छ वर्षपछि विवाह भएको थियो । त्यतिबेला देवयानी संयुक्त राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा जागिरे थिइन् । विवाहपछि उनी नयाँ दुनियाँ बसाएर बसिन् । पिता पशुपति शमशेर राणाको चुनाव प्रचारका सिलसिलामा सिन्धुपाल्चोक पनि पुगेकी थिइन् ।

तत्कालिन युवराज दीपेन्द्र शाहसँग विवाह गराउन तत्कालिन मुमा महारानी रत्नले चाहेकी अर्की महिला हुन् सुप्रिया शाह । उनका पिता प्रदीपविक्रम शाह पूर्व सैनिक हुन् । पूर्व रानी रत्नका अंगरक्षक भएकाले उनी दरबारसँग परिचित नै थिइन् । त्यसमाथि तत्कालिन अधिराजकुमारी श्रुतीकी साथी हुन् सुप्रिया । उनको दीपेन्द्रसँग पनि सम्बन्ध जोडिएको थियो । बुढानिलकण्डमा कक्षा ७ मा पढ्दा नै दीपेन्द्रले सुप्रियालाई चाहेका थिए । उनलाई प्रेमपत्र पनि लेखेको विषय मैंले देखेको दरबारमा विवेककुमार शाहले उल्लेख गरेका छन् । तर, सुप्रियालाई प्रेमपत्र लेखेकोमा ऐश्वर्याले गाली गरेका थिए ।

दीपेन्द्रले नाताले दाजुबहिनी थिए । तर, ठकुरी परिवारमा विवाह गर्न छेकबार नपर्ने सम्बन्ध थियो त्यो । दीपेन्द्र र सुप्रियाका हजुरआमाहरु नाताले दिदीबहिनी थिए । रत्न पनि आफ्ना अंगरक्षक समेत रहेका प्रदीपविक्रमकी छोरी सुप्रियासँग विवाह गरोस् भन्ने चाहन्थिन् । दीपेन्द्र पनि किशोरावस्थासम्म सुप्रियालाई रानी बनाउन चाहन्थे । तर, रानी ऐश्वर्या उनलाई बुहारी बनाउन चाहन्नथिइन् । यो विषय विवेककुमार शाहले लेखेका छन् । यसको मुख्य कारण नजिकको नातामा विवाह गर्दा सम्बन्ध राम्रो हुँदैन भन्ने र बच्चा पनि राम्रो जन्मँदैन भन्ने थियो । ऐश्वर्या सुप्रिया रानी बन्न योग्य मान्दिनथिइन् ।

दरबारहत्याकाण्डले सुप्रियाको रानी बन्ने सम्भावना समाप्त पारिदियो । उनी पनि विवाह नगरी बसिन् । दरबार हत्याकाण्डको दुई दशक पुग्न लाग्दा भने उनले विनयविक्रम राणासँग विवाह गरेकी छिन् । राणाको यसअघिको पत्नीसँग पारपाचुके भएको थियो । त्यसपछि अविवाहित रहँदै आएकी सुप्रियासँग यही मंसिरमै विवाह भयो ।

सुप्रियासँग विवाह सम्बन्ध गाँसेका विनयविक्रमको तत्कालिन राजा वीरेन्द्रका अंगरक्षक शान्तकुमार मल्लकी छोरी साधना मल्लसँगको सम्बन्ध टुटेको थियो । सम्बन्ध टुटेपछि विनयको सुप्रियासँग विवाह भएको छ । उनी हाल दुई तारे जर्नेल भएर पश्चिम पृतनाका पृतनापति छन् । उनी प्रधानसेनापति पूर्णचन्द्र थापाले रुचाएका जर्नेल हुन् । सुप्रिया अविवाहित नै रहने धेरैको अनुमान गलत सावित भएको छ । उनले ५० टेक्न लाग्दा विनयविक्रमलाई दुलाहाको रुपमा रोजेकी छिन् । रानी बन्न नसकेपनि उनी रानीसाब भएकी छिन् ।

इटन कलेजमा पढ्दा दीपेन्द्रको जापानी युवतीसँग पनि प्रेमसम्बन्ध बसेको थियो । ती युवती दीपेन्द्रलाई भेट्न नेपालसम्म आएकी थिइन् । नेपाल आएकी ती जापानी युवतीसँग दीपेन्द्रलाई समस्या नै परेको थियो । उनी दीपेन्द्रसँग विवाह गर्न चाहन्थिन् । एडीसी गजेन्द्र बोहराले युवतीलाई एयरपोर्ट पुर्याएका थिए । ती युवतीले दीपेन्द्रलाई गाली गलौज गर्दै ‘पागल भन्दै कुकुरको मृत्यु मर्ने’ भनेकी थिइन् ।

दीपेन्द्रका लागि रानी ऐश्वर्याले रुचाएकीमा गरिमा राणा थिइन् । एसएलसी टपर थिइन् । केशर शमशेरका सन्तति लोकभक्त राणाकी छोरी थिइन् गरिमा । उनलाई श्रुतीले पनि रुचाएकी थिइन् । श्रुतीकी नन्द गरिमाप्रति दीपेन्द्रको भने आकर्षण देखिएको थिएन । विवेककुमार शाहले पुस्तकमा लेखे अनुसार श्रुतीले दीपेन्द्रको २९ औं जन्मदिनमा गरिमासँग विवाह गर्नुपर्छ भन्दा झापड हानेका थिए । त्यतिबेला श्रुती गर्भवती थिइन् ।

गरिमा राणाले पारस सिंहसँग विवाह गरिन् । उनीहरु बेलायतमा बस्दै आएका छन् । गरिमाकी छोरी गौरिका सिंह स्टार पौडीवाज हुन् । उनले नेपालका खेल क्षेत्रमा कीर्तिमान नै राखेकी छिन् । गरिमा र पारसका एक छोरा पनि छन् । उनी खेलप्रेमी हुन्



प्रतिक्रिया दिनुहोस्