Logo

काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्ग र जटिल खाले पुल निर्माणको भाखा सर्‍यो



काठमाडौं, मंसिर २९। काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) का मुख्य संरचना सुरुङमार्ग र जटिल खालका पुल बनाउने भाखा सरेको छ । सुरुङमार्ग र पुलका आवश्यक प्रक्रिया पूरा गर्दा केही समय पर धकेलिएको भन्दै नेपाली सेनाले आगामी वैशाख वा यही चालू आर्थिक वर्ष (आव) २०७७/७८ को अन्तिमसम्ममा शुरू गरिने जानकारी दिएको छ । सेनाले तयार पारेको होलेस्टिक योजनाअनुसार पुसदेखि यी संरचना निर्माण अघि बढाउने तयारी थियो ।

कोरोना भाइरस संक्रमणका कारण नेपालमा समेत बन्दाबन्दी भएपछि सुरुङ निर्माणका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय परामर्शदाता छनोटमा ढिलासुस्ती हुँदा कार्ययोजना पनि प्रभावित भएको सेनाको दाबी छ । यद्यपि अहिले जियोफिजिकल अनुसन्धानको स्थलगत काम सम्पन्न भइसकेको भन्दै सेनाले सुरुङमार्ग बनाउन अन्तरराष्ट्रिय निर्माण व्यवसायी छनोट गर्न मूल्याङ्कनको कार्य भइरहेको जानकारी दिएको छ ।

यो काम पुस १५ गतेसम्म सम्पन्न गरिने नयाँ कार्यतालिका तोकिएको छ । सोहीअनुसार चैत महीनासम्ममा सम्झौता सम्पन्न गरिने सेनाको भनाइ छ । कुल ७२ दशमलव ५ किलोमीटर (किमी) दूरीको उक्त द्रुतमार्गमा हाल माटो काट्ने÷पुर्ने काम ८८ प्रतिशत सम्पन्न भए पनि मुख्य काम तीनओटा सुरुङमार्ग र जटिल खाले १६ पुलसहितका अन्य पुल निर्माण शुरू नहुँदा आयोजनाको समग्र खर्चस्थिति नै प्रभावित बन्न पुगेको छ ।

आयोजनाको कुल खण्डमध्ये १७ किमी सुरुङमार्ग र पुलको भाग रहेको छ । आयोजनाको सबैभन्दा बढी खर्च हुने भाग भनेकै यी संरचनामै हो । धेरै खर्च हुने संरचना नै बन्न बाँकी रहेकाले खर्च कम हुँदा हालसम्म उक्त आयोजनामा जम्मा १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्