Logo

उत्तरी नाका बन्दको असरः वर्ष दिनदेखि निर्यात ठप्प



काठमाडौं, मंसिर ३० । चीनले गतवर्षदेखि उत्तरी नाका बन्द गरेका कारण १ वर्षदेखि नेपाली सामानको निर्यात ठप्प भएको छ । चार्टर्ड विमान र भारतीय नाका हुँदै केही सामान गइरहे पनि नाकाबाट हुने निर्यात पूर्णरूपमा बन्द भएको व्यवसायीहरूले बताएका छन् ।

नेपालबाट चीनतर्फ हस्तकला, गलैंचा, कार्पेटलगायत सामग्रीको राम्रो निर्यात हुने गरेको छ । अघिल्लो वर्ष चीनमा कोभिडको लहर देखिएपछि नेपाली पक्षले नै नाकाबाट हुने कारोबार बन्द गरेको थियो ।

कोरोना विश्वव्यापी बन्दै गएपछि भने चीनले नै नाका बन्द गरेको थियो । त्यसयता व्यवसायीहरूले बारम्बार नाका खुलाउन सरकालाई पहल गर्न आग्रह गरे पनि नाका खुल्न सकेको छैन । गत जेठमा नेपाल–चीन वाणिज्य सचिवहरूबीच भएको सहमतिअनुसार नाका खुलेर आयात आंशिक रूपमा भए पनि निर्यात भने ठप्पै छ ।

हाल चिनियाँ पक्षले सीमावारिसम्म दैनिक बढीमा ५ कन्टेनर सामान पु¥याइदिने गरेका छन् भने नेपाली कन्टेनरहरू सीमापारि जान पूर्णरूपमा निषेध गरिएको छ । नाका बन्द हुँदा नेपाली उत्पादनले बजार नपाएको र कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले बताए ।

उनले संघबाट धेरैपटक नाका खुलाउन पहल गरिदिन सरकारलाई आग्रह गरे पनि नतीजा देखिने गरी काम नभएको बताए । उनले भने, ‘दैनिक सय कन्टेनर सामान आयात हुने नाकाबाट हाल मुश्किलले ५ कन्टेनर आइरहेका छन्, निर्यात त ठप्प नै छ ।’ संघका सचिव तथा नेपाल चीन द्विदेशीय व्यापार गरिरहेका लेप्साङ शेर्पाले चिनियाँ बजारको विकल्प खोजिरहेको बताए । उनले सामान्य अवस्थामा पनि चीनतर्फ सामान निर्यात गर्दा विभिन्न समस्या रहेको बताए ।

उनका अनुसार चिनियाँ व्यापारीहरूको एकाधिकारका कारण निर्यातमा समस्या रहेको छ । चिनियाँ लाइसेन्स लिएका व्यापारीहरूले मात्र सामान आपूर्ति गर्न पाउने भएपछि बजार हुँदाहुँदै पनि मागअनुसार निर्यात गर्न हुन नसकेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्