Logo

इजरायलमा रोजगारीः ‘प्रोटोकल’मा हस्ताक्षर पुसको दोस्रो साताभित्रै



काठमाडौं, मंसिर ३० । गत असोजमा इजरायलसँग भएको श्रम सम्झौताअनुसार नेपाली कामदार त्यहाँ पठाउन तयार पारिएको ‘प्रोटोकल’मा पुसको दोस्रो साताभित्रै दुई देशका अधिकारीहरूबीच हस्ताक्षर हुने भएको छ । गत असोजमा इजरायलका लागि नेपालकी राजदूत अञ्जना शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो । यही सम्झौतालाई आधार मान्दै तयार गरिएको उक्त प्रोटोकलमा इजरायल र नेपाल सरकारका अधिकारीहरूबीच सो समयावधिभित्रै हस्ताक्षर गर्नेगरी दुई देशबीच सहमति जुटेको छ । त्यसैको गृहकार्यमा वैदेशिक रोजगार विभाग लागिपरेको छ ।

विभागका महानिर्देशक कुमार दाहालले प्रोटोकलको मस्यौदा दुई देशबीच रुजू भइसकेकाले हस्ताक्षर गर्न मात्रै बाँकी रहेको बताए । उनका अनुसार केही आन्तरिक गृहकार्य गर्नुपरेकाले प्रोटोकलमा हस्ताक्षर गर्न केही समय लागे पनि पुसको दोस्रो साताभित्रै हस्ताक्षर गरिनेछ ।

विभागका अनुसार इजरायलले नर्सिङ क्षेत्र, अस्पताल, दिवा सेवा केन्द्रलगायतमा नेपाली श्रमिक आपूर्ति गर्नेछ । श्रम सम्झौताका आधारमा सन् २०२१ को जनवरीदेखि नेपालबाट श्रमिक छनोट गरेर पठाउने गरी प्रक्रिया अगाडि बढ्ने दाहालले बताए ।

इजरायलमा कामदार पठाउन गत असोजमा भएको श्रम सम्झौतालाई केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । अनुमोदनसँगै कामदार पठाउन थप बाटो खुला भएको विभागका अधिकारीहरूको भनाइ छ ।

महानिर्देशक दाहालका अनुसार श्रम सम्झौतामा उल्लेख भएअनुसार पहिलो चरणमा ५ सय कामदार रोजगारीका लागि इजरायल जाँदै छन् । श्रम सम्झौताका आधारमा हिब्रु भाषा, अंग्रेजी र तालीम लिएका कामदारलाई परीक्षण प्रणालीबाट छनोट गरिनेछ । श्रम सम्झौताअनुसार सरकारी तवरबाट नेपाली श्रमिक रोजगारीका लागि इजरायल जाने उनको भनाइ छ । इजरायल रोजगारीमा जानका लागि तालीम, इजरायली भाषा र अंग्रेजीसमेत जानेको हुनुपर्ने प्रोटोकलमा स्पष्ट पारिएको छ ।

सन् २०१५ मा सरकारीस्तरमा नै कामदार आपूर्ति गर्ने विषयमा नेपाल सरकारसँग इजरायलले ‘पाइलट प्रोजेक्ट’का रूपमा श्रम सम्झौता गरेको थियो । तर, श्रम सम्झौता भएको ३ वर्षको अवधिमा नै नेपालीका लागि इजरायलको श्रम बजार बन्द भएको थियो ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्