जाडो बढ्दा कोरोनाको जोखिम पनि बढ्ने


सुदूरपश्चिम, ४ पुस: शीतलहरसँगै बढेको जाडोले कोरोना भाइरसको सङ्क्रमण हुने जोखिम पनि बढेको छ । चिसो मौसममा धेरै भाइरल इन्फेक्सन सक्रिय हुने गरेकाले कोरोनाको जोखिम बढ्नसक्ने सेती प्रादेशिक अस्पताल धनगढीका कोभिड–१९ उपचार विभागका प्रमुख डा. शेरबहादुर कमरले बताए ।

“प्रकृति हेर्दा कोरोना अझैँ बढ्न सक्ने देखिन्छ”, डा कमरले भने, “यस्तो बेलामा धेरै व्यक्ति भेन्टिलेशनको सुविधा नभएको एउटै कोटामा बस्न पनि जोखिम हुनसक्छ ।” अहिलेको चिसो मौसममा सकभर एउटै कोठामा धेरै व्यक्ति नबस्न, चिसोबाट जोगिने उपाय अपनाउने र खाने कुरामा पनि ध्यान दिनुपर्ने सल्लाह चिकित्सकको छ ।

जाडो बढेसँगै स्वास्थ्य संस्थामा रुघाखोकी, निमोनिया, ज्वरो र दमका रोगी बढ्न थालेको जनाइएको छ । पछिल्लो तीन दिनयता यस क्षेत्रमा न्यूनतम तापक्रम निरन्तर घट्दै गएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।-रासस