-कमलमणि पोख्रेल
समाचार संयोजक, प्राइम टाइम्स टेलिभिजन
राति ११ बजेसम्म कार्यालयमै बस्नुपर्ने भएकाले विहान जहिले पनि ९ बजे मात्रै उठ्छु । मतलब राति घर पुगेर खाएर सुत्दा उस्तै परे रातिको २ बज्छ ।
दिनभरी समाचार लेख्छु । राति खाना खाएपछि आफूलिे दिनभरी दिएका समाचार र अरु संचारमाध्यमले दिएका समाचारको समिक्षा गर्नका लागि धेरै समय विभिन्न संचारमाध्यमका आएका समाचार हेरेर २ बजाउँछु ।
अघिल्लो दिन नै भोलीपल्ट विहान चाँडै कार्यालय जानुपर्ने अवस्था निश्चित भए चाँडै सुत्छु । नत्र उही ९ बजे उठ्छु
पुष ५ गते नेकपाको स्थायी कमिटी बैठकको कभरेज मुख्य लक्ष्य थियो । त्यो पनि पटकपटक स्थगित हुँदै बस्दे गरेको बैठक भएकाले दिउँसोका लागि निर्धारित भएकाले सामान्य लिएको थिएँ ।
विहान ९ बजेपछि उठेँ । म उठनासाथ श्रीमती खाना तयार पारेर म जहाँ बस्यो त्यहीँ ल्याउने तयारीमा जुट्छिन् ।
उठेपछि ३० मिनेटभित्र खाना खान तयार हुन्छु । आज ५ वर्षकी छोरीसँगै गफ गर्दै खाना खाने रहर जागेपछि छोरीले होमवर्क गरिरहेको बेठमै बसेँ । श्रीमतीले त्यहीँ खाना ल्याइन् ।
खाना खाँदाको समय विषेश लाग्छ । छोरीसँग गफ त्यही बेला । श्रीमतीको कुरा सुन्ने त्यहीबेला । अनि कार्यालय पुगेर आज केके रिपोर्टिङ गर्ने, कुन संचारमाध्यमले कुन विषयलाई प्राथमिकता दिने भन्ने तयारीका लागि सामाजिक संजाल पनि हेर्नुपर्ने ।
फेसबुक खोलेको मात्रै थिएँ संसद विघटन गर्नका लागि मन्त्रीपरिषदद्धारा राष्ट्रपतिसमक्ष प्रस्ताव भनेर केही साथीहरुले स्टाटस राखेको देखेँ । पहिलो स्टाटस राखेको २ मिनेटभित्रै मैले फेसबुक हेर्न पुगेछु ।
त्यसपछि कार्यालयमा विहानको सिफ्ट हेर्नुहुने सम्पादक कृष्ण मल्ललाई फोन गरेँ । संसद विघटनको सिफारिस भन्ने हल्ला छ । के हो बुझेर फ्ल्यास चलाउनुपर्यो भनेँ ।
दुर्भाग्य कृष्ण सरको पनि खाना खाने समय भएकाले घर पुग्नुभएको रैछ । कार्यालयबाट घर नजिकै भएकाले उहाँले घरमै खाना खानुहुन्छ । त्यसपछि फोन गरेँ सिनियर सम्पादक जनक पण्डितलाई । उहाँ ८ बजे कार्यालय पुग्नुहुने भएकाले फोन गरेर कृष्ण सरलाई जे भनेको थिएँ त्यही भनेँ ।
जनक सरले पनि ल म बुझिहाल्छु भन्नुभयो । त्यसपछि अध्यक्ष ऋषि धमलालाई फोन गरेँ । संसद विघटनको कुरा आएको छ तपाईसँग कुनै सुचना छ भने भनिहाल्नुस् भनेँ । उहाँले पनि म बुझिहाल्छु भन्नुभयो ।
सामाजिक संजालमार्फत पाएको अपुष्ट समाचारबारे सम्बन्धित सबैलाई जानकारी गराएपछि बल्ल खाना खान थालेँ । उता श्रीमती खाना खाएर कुरा गरे हुन्थ्यो नि । जहिल्यै यस्ते हो भन्दै गनगन गर्दैथिई ।
खाना खानुअघि नै कपडा लगाएर तयारी थिएँ । असाध्यै हतार भएको महसुश भइरहेको थियो । स्कुटर चलाएर अफिस हिँड्दा छोरीले बाइ बाबा भनेको रिप्लाई गर्ने मेसो पनि पाइन ।
हुँइकिएर अफिस हिँडे । उही त हो, काठमाण्डौको जाम । ठाउँठाउँमा जाममा पर्दा अफिस पुग्न करिब ३५ मिनेट लाग्यो । अफिस पुग्दासम्म संसद विघटन भएको पुष्टी भइसकेको थियो । कृष्ण र जनक सरले प्रत्यक्ष प्रशारणमार्फत सुचना प्रवाह सुरु गरिसक्नुभएको थियो ।
स्टुडियोमा बालकृष्ण शर्मा व्यस्त हुनुहुन्थ्यो । राजनीतिक दलका नेताहरु, राजनीतिक विश्लेषक अनि संविधान तथा कानुनका जानकारहरुसँग निरन्तर प्रत्यक्ष सम्वाद चलिरहेको थियो ।
कार्यालय पुगेपछि समाचार सम्प्रेषणको अवस्था सन्तोषजनक थियो । सहकर्मीहरुको प्रयासमा जोडबल लगाएर थप राम्रो गर्ने प्रयासमा सबैजना लागियो । सहकर्मी पुण्य धमला र रोहन श्रेष्ठ पनि स्टुडियोमा जोडिनुभयो ।
दैनिक रिपोर्टिङभन्दा आज केही फरक गर्नुपर्ने अवस्था आयो ।
संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी ओली राष्ट्रपति शितलनिवासतर्फ
ओलीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल वालुवाटार, ओलीले भेट्न नमानेपछि दाहाल फिर्ता
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा २०७८ वैशाख १७ र २७ गते चुनाव गर्नेगरी प्रतिनिधिसभा विघटन
नेकपामा खैलाबैला
विभिन्न राजनीतिक दल तथा नेताहरुद्धारा संसद विघटनको विरोध
संवैधानिक आयोगमा फलानो फलानो नियुक्त
केपी ओलीलाई कारबाही गर्ने नेकपा स्थायी कमिटी बैठकको निर्णय
यस्तै यस्तै समाचारहरु बनाउँदै प्रशारण गर्नमै दिन बित्यो । जुनसुकै समयमा सम्बन्धित व्यक्ति ल्याएर अन्तरवार्ता गर्ने ऋषि धमला चाँही के गर्दैहुनुहुन्छ भनेर चासो लाग्यो । न्युजरुममा प्रवेश गर्नासाथ अध्यक्षज्यूलाई प्रश्न गरेँ– आज यस्तो घटनाक्रम भइरहेको छ खै त अतिथी ल्याएर अन्तरवार्ता गर्नुभएको ?
रिपोर्टस क्लबमा संविधान तथा कानुनविद्हरुको भर्खर साक्षात्कार सकेर आएँ । अब टिभीमा गर्छु भन्नुभयो । यति सम्वाद हुन पाएको छैन दिउँसो ४ बजेको समाचार नै प्रशारण हुन नपाउने गरी अन्तरवार्ता सुरु गरिहाल्नुभयो ।
राति ९ बजेसम्म ७ जनाको अन्तरवार्ता गरेर सक्नुभयो । म यता न्युजमा व्यस्त । सम्भवत एउटै विषयमा केन्द्रित रहेर धेरै समाचार बनाएको दिन थियो २०७७ पुष ५ गते । ७ बजेका लागि तयार पारेको प्राइम समाचारका २० वटा समाचारमध्ये १५ वटा त संसद विघटनपछिका घटनाक्रम मात्रै थिए ।
प्राइम समाचार सकियो । ९ बजे अध्यक्षज्यूको जनता जान्न चाहन्छन् कार्यक्रम पनि सकियो । त्यसपछि दिनभरीको समिक्षा भयो । अध्यक्षज्यूले ल आज राम्रो भयो । तपाईलाई बधाई छ भन्नुभयो ।
यस्तै हो, घटनाक्रमअनुसार सक्रियता र समाचार निर्माण निर्भर हुन्छ ।
आजका लागि तयार पारिएको केही समाचारहरु प्रशारण हुन पाएन ।
रिपोर्टर लक्ष्मी विकले तयार पारेका त्रिभुवन विश्वविद्यालय डम्पिङ साइट बन्दै
सृजना कार्कीले तयार पारेको चीसो लागेसँगै अस्पतालमा बिरामीको चाप
रिताश्मा मुखियाले तयार पारेको यातायात व्यवस्था कार्यालय र सवारी चालक अनुमती पत्रसम्बन्धी समाचार
विषयवस्तु मिल्यो भने भोली प्रशारण गरौँला ।
-पुष ५, काठमाण्डौ ।




प्रतिक्रिया