Logo

गाउँमा प्रसूति सेवा सञ्चालनमा आउँदा महिलालाई सहज



हुम्ला, पुस ६ । दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ । विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका महिलालाई सहज भएको छ ।

जिल्लामा सुत्केरी व्यथा लागेर घरमै थला पर्ने र ज्यानै जानसक्ने अवस्थाको अन्त्य भएको छ । विगतका वर्षमा दूरदराजमा रहेका महिलामा सुत्केरी व्यथा लागेको बेला आफ्नो व्यक्तिगत खर्चमा जिल्ला बाहिर जानुपर्ने अवस्था अब हटेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा एयर लिफ्टिङको व्यवस्था गरी जिल्लामा सुत्केरी व्यथा लागेर जटिल समस्या आएकाको उपचार गर्दा समस्या समधान भएको छ । स्थानीय तहहरु विभाजनपछि यहाँका सातवटा गाउँपालिकाले आफ्नै स्वास्थ्य भवन र उपचारका लागि पनि स्वाथ्यकर्मी बढाएपछि हुम्ली जनतामा सहजता थपिँदै गएको छ ।

यसअघि परम्परागतरूपमा गाउँमै स्थानीय महिलामार्फत बाध्यताले सुत्केरी गराउने चलन थियो । त्यो सबै सफल भएको देखिँदैन थियो । यतिखेर हुम्लाको ताँजाकोटमा प्रसूति सेवा शुरु भएपछि महिलाहरूको त्यसतर्फ आकर्षण बढेको पाइएको छ । ताँजाकोट–२ का राजपुरा सुनारले सबै सुविधा हुने भएपछि प्रसूति सेवाप्रति गर्भवती महिलाको आकर्षण बढेको बताउनुभयो । प्रसूति सेवा सञ्चालनमा आएपछि हाल भत्ता पनि सोही ठाउँमै उपलब्ध हुने गरेको छ ।

स्वास्थ्यचौकीका इञ्चार्ज धनराज ढकालका अनुसार शुरुमा प्रसूति गृह सञ्चालनमा आउँदा यो ठाउँका महिला सुत्केरी गराउन लजाउने गर्थे, अहिले त्यो समस्या पनि हट्दै आएको छ । प्रसूति सेवा सञ्चालन भएलगत्तै एक वर्षमा १३० महिलाले प्रसूति सेवा लिएका छन् । प्रसूति सेवाका लागि विसं ०७७ साउन महिनायता मात्रै दुईजना अनमीको व्यवस्था गरिएको छ । उक्त सेवा शुरु भएपछि सुत्केरी हुन नसक्दा हेलिकप्टरबाट महिलाको उद्धार गर्नुपर्ने अवस्थाको अन्त्य हुने स्थानीयवासीको विश्वास छ । गर्भवती महिला नियमित गर्भ जाँच गर्न आउने गरेको स्वास्थ्यचौकीले जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्