Logo

गल्फागाडमा बेलिब्रिज: चैतसम्म सवारी साधन चल्ने



हुम्ला, पुस ७ । लामो समयको लकडाउनका कारण रोकिएको निर्माणाधीन गल्फगाड बेलिब्रिज जडानको काम सम्पन्न भएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको गल्फागाडमा रहेको गल्फागाड बेलिबिज्र गत वर्ष माघदेखि शुरु भएको थियो भने नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदलले गत शुक्रबार सम्पन्न गरेको हो ।

गल्फागाडमा बेलिब्रिज जडान सम्पन्न भए पनि सवारी साधन तत्काल सञ्चालनमा नआउने भएका छन् । जडान सकिए पनि बेलिब्रिजको दुवैपट्टि रेम बनाउन करिब दुई हप्तादेखि एक महिनासम्म लाग्न सक्ने भएकाले सवारी साधन सञ्चालन नआउने भएका हुन् ।

तीन दिनको समय लगाएर गल्फागाडको बेलिब्रिज जडान गरिएको छ । गल्फागाडको पुल निमार्ण सम्पन्न भएसँगै सर्केगाड गाउँपालिका, मुगुलगायत तुम्च वालुकुनासम्म जान सहज हुने भएको छ । यसभन्दा अघि गल्फागाडको खोला भएर यातायातका साधन तारिँदै आइएको थियो भने अबको केही दिनमा गल्फागाड पुलबाटै आवतजावत गर्ने भएको हुँदा यहाँका स्थानीयवासीसहित सवारी साधनका चालक खुशी भएका छन्् ।

तुम्चाको वालुकुनासम्म औपचारिक सवारी सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको छ । नेपाली सेनाको सडक निर्माण दलका आयोजना प्रमुख मिलन कार्कीले भन्नुभयो, “प्रक्रिया अघि बढेकाले अब माथिबाट पत्र आउन मात्र बाँकी छ, गत मङ्सिर २६ गते भएको अनुगमनको प्रतिवेदन रक्षा मन्त्रालय हुँदै नेपाली सेनाको मुख्यालयमा पुगिसकेको र स्वीकृत भएर आउन मात्र बाँकी रहेको छ । अब हप्ता, दश दिनभित्र स्वीकृत भएर आउनेछ ।”

कर्णाली करिडोरको ९० प्रतिशत काम

यस्तै नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको हुम्ला सडकखण्डको आफूले जिम्मा लिएको काम ९० प्रतिशत सम्पन्न गरेको जानकारी दिएको छ ।

आगामी चैत महिनासम्म सवारी साधन सञ्चालनमा ल्याउनका लागि नेपाली सेना लागिपरेको छ । मेसिन र कामदारबाट सडक निर्माण भइरहेकाले आउँदो चैतसम्ममा यो सडकखण्डमा सवारी साधन सञ्चालन हुने नेपाली सेनाको सडक निर्माण दलका आयोजना प्रमुख कार्कीले बताउनुभयो ।

सेनाले निर्माण गरिरहेको बाजुरा र हुम्लाको सीमा कवाडीबाट सर्केगाड र चखेली गाउँपालिकाको सीमा सलिसल्लासम्म चैतसम्ममा सवारी साधन चलाउनयोग्य बनाउने उहाँले जानकारी दिनुभयो ।

कवाडीबाट सलिसल्लासम्मको ३९ किलोमिटर सडकमध्ये ताजाकोट गाउँपालिकाको कवाडीबाट सर्केगाड गाउँपालिका–१ बालुकुनासम्मको २७ किलोमिटर सडक सवारी साधन चलाउन सकिने भएको छ । सवारी साधन सञ्चालन गर्न सिफारिससमेत भइसकेको छ ।

बालुकुनाबाट सर्केगाड–१ खच्चासम्मको साढे नौ किलोमिटर सडकमा सामान ढुवानी गर्ने र सेनाको गाडी चलिरहेका छन् । बाँकी साढे दुई किलोमिटर क्षेत्रमा मात्र सडक निर्माण पूरा भएको छैन । नेरघाट, पम्पडे र सलिसल्लाको चट्टानी भागको साढे दुई किलोमिटर भाग मात्र बाँकी रहेको सेनाको निर्माण दलले जनाएको छ । सो क्षेत्रमा पनि काम भइरहेको छ ।

सडक निर्माणमा दैनिक नेपाली सेनाका ९० र अन्य २०० कामदार संलग्न छन् । ग्याबिन लगाउने, माटो भर्ने, सिमेन्टको काम र विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फुटाउने काम एकसाथ अगाडि बढिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्