Logo

अलैँचीको मूल्य वृद्धि नहुँदा किसानलाई पिरलो



ताप्लेजुङ,पुस ९ । पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् । केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको छ । गत वर्षको अलैँची मुस्किलले बिक्री गरेका किसानले यो वर्ष नयाँ उत्पादनसँगै भाउ बढ्ने आशा गरेका थिए तर बजारमा नयाँ उत्पादन लैजाँदा गत वर्षको भन्दा पनि कम मूल्य पाएपछि थप निराशा छाएको छ ।

भाउ घटे पनि फेरि बढ्ला कि भन्ने आसले अलैँची खेतीलाई भने यहाँका किसानले निरन्तरता दिइरहेकाछन् तर अलैँचीको बजारीकरण र मूल्यमा तत्काल कुनै सुधार हुने सङ्केत देखिँदैन । भारत बाहेकका तेस्रो मुलुकमा सिधै निर्यात हुने वातावरण नबन्दासम्म मूल्यमा सुधार हुने सङ्केत नदेखिएको अलैँची व्यवसायीले बताएका छन् । “एउटै मात्र बजारको भर पर्नुपर्छ, भारतका व्यापारीले जति मूल्य भन्छन् त्यही मूल्यमा अलैँचीको कारोबार गर्नुपर्ने बाध्यता छ, मूल्यमा स्थिरता हुँदैन, राज्यले यसको बजारीकरण र मूल्यको एकरूपताका लागि विशेष पहल गर्न आवस्यक छ”, अलैँचीको कारोबार गर्दै आउनुभएका स्थानीय बुद्ध दाहाल भन्नुहुन्छ ।

हालसम्म नेपालमा उत्पादित अलैँची भारतबाहेकका अन्य मुलुकहरुमा सिधै निर्यात हुन सकेको छैन । अहिले ताप्लेजुङमा प्रतिमनको रु २५ हजार ५०० का दरले किनबेच भइरहेको छ । गएको वर्ष प्रतिमन रु २६ देखि २७ हजारका दरले अलैँचीको कारोबार भएको थियो । चार वर्षअघि प्रतिमन रु एक लाखभन्दा बढी मूल्यमा कारोबार भएपछि जिल्लाका अधिकांश किसानले धान, मकैलगायतका अन्न उत्पादन हुने खेतबारी मासेर अलैँची रोपेका थिए ।

पहाडी भूभागमा प्रशस्तै उत्पादन हुने अलैँचीको बजारीकरण र मूल्यमा सुधार गर्न सके मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने र आफुहरुलाई समेत फाइदा पुग्ने अलैँची किसानको भनाइ छ । यता भारतबाहेकका मुलुकमा समेत सिधै निर्यातको वातावरण बनाई बजारीकरणमा सहजता ल्याउन आवश्यक भएको किसानहरूले बताएका छन् । वर्षौँदेखि अलैँचीको मूल्यमा आइरहने उतारचढावलाई रोक्दै मूल्यमा एकरूपता ल्याउन र बजारीकरणका लागि सरकारले थप पहल गरे आफूहरुको समस्या समाधान हुने कृषकहरुको भनाइ छ ।रासस



प्रतिक्रिया दिनुहोस्