Logo

ओलीले प्रचण्डबाट चार हस्तीलाई आफ्नो पक्षमा यसरी ल्याए



काठमाडौं, ९ पौष । नेपाल कम्युनिस्ट पार्टीको फुटमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्काका प्रभावशाली नेताहरुलाई तान्ने क्रम लामो समययता चलिरहेको थियो । पार्टी फुट भई निर्वाचन आयोगमा आधिकारिकताको दाबीसहितको पत्र पुगुञ्जेल ओलीले प्रचण्ड पक्षीय चारजना हस्ती आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

ओलीले आज गृहमन्त्री रामबहादुर थापा बादललाई आफ्नो पक्षमा पार्न सकेका छन् । बादल ओली समूहको नेकपा केन्द्रीय कमिटी बैठकमा देखिए । उनलाई उपाध्यक्ष बनाउने आश्वासन दिइएको बुझिएको छ । गृहमन्त्रीमा समेत कायमै राख्ने ओलीले वचन दिएका छन् ।

बादलको कित्ताकाट, आजबाट नेकपा ओली समूहमा

बादल केही समययता ओलीसँग नजिकिदै आएका थिए । सचिवालय सदस्य समेत रहेका बादल प्रचण्डसँग जनयुद्धभन्दा अघि देखि साथमा थिए । तर, बादल समूहका देव गुरुङ र पम्फा भुषाल प्रचण्ड पक्षमै रहेका छन् ।

ओलीले टोपबहादुर रायाझीलाई पनि पक्षमा ल्याइसकेका छन् । रायमाझी स्थायी कमिटी सदस्य छन् । उनीसँग मणि थापा पनि ओली समूहको बैठकमा देखिएका थिए । दुवै ओली समूहमा पुगेका छन् । रायमाझी र थापालाई मन्त्री पदको आश्वासन रहेको बुझिएको छ ।

यसअघि नै लेखराज भट्ट ओली समूहमा गइसकेका थिए । कुनैबेला प्रचण्ड निकटस्थ भट्ट सुदुरपश्चिममा राम्रो पकड बनाएका नेता हुन् । उनले केही समययता प्रचण्डको आलोचना गर्दै आएका थिए । भट्ट मन्त्री पदमा कायमै रहने बुझिएको छ । उनलाई सुदुरपश्चिममा विशेष जिम्मेवारी दिइने तयारी भएको छ ।



प्रतिक्रिया दिनुहोस्