Logo

अदालतले संविधानको रक्षा गर्ने नेकपा नेता देव गुरुङको विश्वास



काठमाडौं, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले सर्वोच्च अदालतले संसद् विघटनका विपक्षमा आदेश दिनेमा आफूहरु आशावादी रहेको बताएका छन् । नेकपा गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अदालतले संविधानको रक्षा गर्ने विश्वास व्यक्त गरे।

विघटित प्रधिनिधिसभामा नेकपाका प्रमुख सचेतक गुरुङले भने, “सरकार बन्न नसकेका अवस्थामा बाहेक संविधानमा प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको परिकल्पना गरिएको छैन, हामीलाई आशा र विश्वास छ, सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई सच्चाउने छ ।”

सो अवसरमा नेकपा नेता देवेन्द्र पौडेलले पार्टीको विधान र नियमावलीविपरीतका गतिविधि गर्न नहुनेमा जोड दिँदै संविधानको रक्षाका लागि आफूहरु आन्दोलित भएको बताए ।

प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले प्रतिनिधिसभाको नियमित अधिवेशन आह्वान गरी बैठक चलाउन प्रदेश समितिको बैठकले माग गर्नेलगायत आठबुँदे प्रस्ताव पारित गरी बैठक सम्पन्न भएको जानकारी दिए । गण्डकी प्रदेश कमिटीका २१६ सदस्यमध्येमा आफूहरुको बैठकमा ११० जना बहुमत सदस्य प्रत्यक्ष उपस्थित भएको उहाँले जिकिर गरे । रासस



प्रतिक्रिया दिनुहोस्