Logo

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो



काठमाडौं,पुस १५ । भारतले गत भदौ २९ गतेदेखि प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । त्यतिबेला भारतको आन्तरिक बजारमै प्याजको अभाव भएकाले मूल्यवृद्धि हुन नदिन भारतले निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

सोमवार भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले विज्ञप्ति जारी गर्दै आउँदो शुक्रवारदेखि निर्यात खुलाउने उल्लेख गरेको छ । भन्सार विभागका महानिर्देशक सुमन दहालले यतिबेला भारतमा प्याजको उत्पादन बढेकाले उसले निर्यात खुलाएको हुन सक्ने बताए । भारतले लगाएको प्रतिबन्ध हटेसँगै नेपालमा प्याजको मूल्य सस्तिने उनको भनाइ छ ।

भारतले निर्यातमा प्रतिबन्ध लगाएको भोलिपल्टदेखि नै नेपाली बजारमा प्याजको मूल्य बढेर दोब्बर पुगेको थियो । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूची अनुसार भदौ २९ गते प्याजको थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ थियो । तर भारतले निर्यातमा प्रतिबन्ध लगाएको २ दिनमै ९९ प्रतिशत बढेर प्रतिकिलो ११९ रुपैयाँ पुगेको थियो । खुद्रा बजारमा भने प्रतिकिलो १६० रुपैयाँसम्म विक्री भएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमनका क्रममा व्यापारीले प्याजको कृत्रिम अभाव सृजना गरेको ठहर गर्दै कारबाही चलाएपछि भने प्याजको मूल्य ओरालो लागेको थियो । आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्