पुष १५, काठमाण्डौ । सरकारले निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो ।
२०७५ कार्तिक ८ गते कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई गृह मन्त्रालयले कारबाही गरी सेवाबाट हटाएको थियो । तर गत साउन १५ गते निर्मला प्रकरण अनुसन्धान तथा जिल्ला कमाण्ड गरेका प्रहरीमा लागेको मुद्धामा सफाइ पाएसँगै सेवामा फर्किने बाटो खुलेको थियो ।

प्रहरी अधिकृतहरुविरुद्ध यातना र प्रमाण नष्ट गरेको भन्दै जिल्ला अदालत, कञ्चनपुरमा मुद्दा समेत परेको थियो । तर, अदालतले प्रहरीकै पक्षमा फैसला गरेपछि उनीहरुलाई सेवामा फर्काउन बाटो खुलेको थियो ।
एसपी विष्ट र प्रहरी निरीक्षक भट्टको हकमा मन्त्रिपरिषद्ले नै बर्खास्त गरेकाले पुनर्वहालीको निर्णय पनि मन्त्रपरिषदले नै गर्नुपर्ने भएकाले सेवामा फर्किन सकेका थिएनन् ।
घटना अनुसन्धान गरेका विष्ट, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) बाट गएका डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर यकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो ।




प्रतिक्रिया