Logo

दोस्रो चरणको पेट्रोलियम उत्खननमा ढिलाइ



दैलेख, पुस १७ । दैलेखमा सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननको दोस्रो चरणको काममा ढिलाइ भएको छ । दसैं–तिहारलगत्तै गरिने भनिएको काम अझै सुरु हुन नसकेको हो ।

आयोजनाका अनुसार दोस्रो चरणमा ड्रिलको काम थाल्ने योजना थियो । यसका लागि आवश्यक औजार चीनबाट ल्याउन नसकिएकाले काम सुरु गर्न ढिलाइ भएको हो ।

आयोजना प्रमुख एवं खानी तथा भू–गर्भ विभागका उप–निर्देशक सुधीर रजौरेले नयाँ वर्ष ९सन् २०२१० देखि काम सुरु हुने जानकारी दिए । ‘विगतका अध्ययनले दैलेखमा कच्चा तेल र ग्यास छ भन्ने देखाइसकेको छ,’ उनले भने, ‘२०२१ अथवा आउँदो फागुनदेखि काम सुचारु हुन सक्छ ।’

कम्पनीले औजार ल्याएपछि मात्र कुन स्थानबाट ड्रिल गर्ने भन्ने टुंगो लाग्ने उनको भनाइ छ ।विभागले गत वर्ष सेस्मिक रेफ्लेक्सन सर्भे र म्याग्नेटोटेलुरिक सर्भे गरेको थियो । सोही सर्भेका आधारमा ड्रिलको काम गर्न लागिएको हो ।

रजौरेका अनुसार चीनको अध्ययन समूहले अध्ययन प्रतिवेदन तयार गरिरहेको छ । छिट्टै उनीहरूले निष्कर्ष दिने विभागले बताएको छ । ड्रिल ४ दशमलव ५ किलोमिटर गहिराइमा गरिनेछ । ड्रिल एक स्थानबाट मात्र नभई विभिन्न स्थानबाट गरिने योजना छ, जसका लागि सम्भावित स्थानको पहिचान हुँदै छ । चिनियाँ सहयोगअन्तर्गत गर्नुपर्ने काम भने सम्पन्न भएको विभागले बताएको छ । उपनिर्देशक रजौरेका अनुसार अब ड्रिल गर्नुअघि जियोलोजिकल म्यापको अपडेट र सेक्सन मेजरमेन्टअन्तर्गत खोलामा गएर चट्टान कति गहिराइमा छ, पत्ता लगाउने काम हुनेछ ।‘आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्