Logo

सुस्त गतिमा भ्युटावर निर्माण



काठमाडौं, पुस १७। काठमाडौँको पुरानो बस पार्कमा निर्माणाधीन ‘काठमाडौँ भ्युटावर’ निर्माण चिप्लेकीराको गतिमा निर्माण भइरहेको छ । निर्माण सुरु भएकोे पाँच वर्ष बितिसक्दा पनि अहिलेसम्म टावर निर्माणको १५ प्रतिशत मात्रै काम भएको छ ।

महानगरपालिका र निर्माण कम्पनीबीच भएको सम्झौतामा २०७८ असारभित्र उक्त टावरको निर्माण सम्पन्न गरी व्यावसायिक प्रयोजनमा आइसक्नुपर्ने उल्लेख गरिए पनि अहिलेसम्मको निर्माणको अवस्थाले सो समयावधिमा कार्य सम्पन्न हुनसक्ने अवस्था देखिएको छैन । अहिलेसम्म सो टावर निर्माणको बेसमेन्टको काम सम्पन्न भई थप निर्माणकार्य अगाडि बढेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता किशोरमान डङ्गोलले महानगर र निर्माण कम्पनीबीच भएको सम्झौताबमोजिम ‘काठमाडौँ भ्युटावर’ को काम हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीले पहिलेभन्दा अहिले कामलाई केही गति दिए पनि निर्माणकार्य सन्तोषजनक रूपमा अगाडि बढ्न सकेको छैन । कार्यतालिकाअनुसार अहिलेसम्म जति काम हुनुपथ्र्यो त्यति हुन सकेको छैन ।”

टावर निर्माणको जिम्मा जलेश्वर, स्वच्छन्द र बिकोई ९जेभी०ले पाएका छन् । २०७१ फागुन २२ गते सम्झौता भए पनि निर्माण कम्पनीले २०७३ साउन ३० गतेदेखि मात्र काम सुरु गरेको हो । झण्डै दुई वर्ष काम ढिलो सुरु गरे पनि निर्माण कम्पनीले बीचबीचमा काम छोड्दै आएको छ । महानगरले सो टावर निर्माणका लागि गत वर्ष चैतमा एक वर्षका लागि समयसमेत थप गरिसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्