Logo

राष्ट्रियसभाको अधिवेशन सुरु : कसले के भने ?



पुष १७, काठमाण्डौ । सङ्घीय संसद्को राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन आह्वान गरेपछि शुक्रबारदेखि बैठक सुरु भएको हो । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकको सुरुमै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

बैठक शुरु भएका सन्दर्भमा विभिन्न दलका नेताहरुले धारणा राखेका थिए । सत्तारुढ नेकपा राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले दलभित्रको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भएको बताएका छन् । शर्माले प्रतिनिधिसभा विघटन हुनु ठीक नभएको बताएका हुन् ।

पार्टीको अन्तरविरोधका कारणले जननिर्वाचित प्रतिनिधिसभा सहिद हुन पुगेको शर्माको टिप्पणी छ । उनले प्रतिनिधिसभा विघटनबारे राष्ट्रिय सभाको बैठकमा छलफल उठ्ने र दलका सांसद विभाजित मानसिकता लिएर सदनमा आउनुपरेको बताए । शर्माले पार्टी विभाजन रोक्नसक्ने केही तरिका भए पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई आग्रह गरे ।

कांग्रेस सांसद जितेन्द्र देवले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई राजनीतिक दुर्घटनाको विन्दुमा पु¥याएको आरोप लगाए । राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद देवले देश असाध्यै जटिल अवस्थामा प्रवेश गरेको र यहाँबाट उद्धार हुन्छ कि हुँदैन भन्ने गम्भीर चिन्ता उत्पन्न भएको बताए ।

त्यस्तै जनता समाजवादी पार्टीकी सांसद् प्रमिला कुमारीले प्रधानमन्त्रीले गरेको संसद् विघटन ०१७ सालमा राजा महेन्द्रले चालेको प्रतिगमनको पुनरावृत्ति भएको बताइन् । सर्वोच्च अदालतले संसद् पुनस्थापनाको आदेश जारी गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

बैठकमा विभिन्न सात वटा अध्यादेश पेश गरिएका छन् । राष्ट्रियसभा बैठकले संविधानसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभाका वर्तमान तथा पूर्व १० सांसदको विभिन्न समयमा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नभएको उक्त प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही पुस २३ गते दिउँसो १ बजे बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्