Logo

मंगलवारदेखि खुल्दै मुक्तिनाथ मन्दिर



म्याग्दी, पुस २१। मुक्तिनाथ मन्दिर पुस २१ गते मंगलवारदेखि खुला गरिने भएको छ । कोभिड १९ महामारीका कारण विगत ९ महीनादेखि बन्द रहेको मुक्तिनाथ मन्दिर खुला गर्ने निर्णय भएसँगै म्याग्दी र मुस्ताङका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङको संयोजनमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको भेलाले पुस २१ गतेदेखि मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले जानकारी दिए ।

हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मानिने मुक्तिनाथ मन्दिर खुलेपछि नेपालका विभिन्न ठाउँ, भारत र तेस्रो मुलुकबाट पर्यटक समेत आउने भन्दै म्याग्दी र मुस्ताङका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन् । ‘कोरोना कहरका कारण करीब १० महीना बन्द रहेका म्याग्दी र मुस्ताङका पर्यटन तथा धार्मिक क्षेत्र खुल्न थालेपछि व्यवसायले निरन्तरता पाउने आशा गरेका छौं,’ म्याग्दी होटल व्यवसायी संघका अध्यक्ष बाबुराम आचार्यले भने ।

मुस्ताङका होटल व्यवसायी एवम् होटल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले मुस्ताङका पर्यटकीय स्थल तथा मुक्तिनाथ मन्दिर खुला भएपछि यहाँको होटल तथा पर्यटन व्यवसाय पुरानै लयमा फर्किने विश्वास व्यक्त गरे । उनका अनुसार मुक्तिनाथमा भएका होटलमा प्रतिदिन एक हजार ५०० जनासम्म आन्तरिक पर्यटकलाई थेग्न सक्ने क्षमता छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्