Logo

भारतका लागि नेपालमा गणतन्त्र र धर्मनीरपेक्ष प्रतिकूल बनेको हो ?



दीपेश केसीः कोरोना महामारीबीच चाटर्ड विमानमै दुवै छिमेकका उच्च अधिकारीहरु नेपाल भ्रमणमा आए गए । भारत र चीनबाट पालैपालो चाटर्ड विमानबाट भएको भ्रमण नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुग्दा भएको थियो । नेकपाको आन्तरिक राजनीतिसँग जोडिने गरी भारत र चीन दुवैतर्फबाट भएको भ्रमण निकै अर्थपूर्ण रहेको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ यचौसहितको टोलीको भ्रमण नेकपा विवादसँग जोडिन पुग्नु संयोग मात्र थिएन ।

चौथाइवाले नेकपा महासचिव विष्णु पौडेलको निम्तोमा भ्रमणमा आएका थिए । उनी नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग नभेटी गए । प्रचण्ड र नेपाललाई समेत पत्तो नहुने गरी चौथाइवालेलाई निम्तो दिइएको र भेटघाट नगराएकोमा भीम रावलले त प्रश्न नै उठाएका थिए । नेकपा विवाद चुलीमा पुग्दा यो विषय पनि प्रचण्ड र माधव नेपाल पक्षले उठायो । चीनको यचौ नेतृत्वको टोली नेकपा एक बनाइराख्ने प्रयासमा नेपाल आएको खुलिसकेको छ । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको एउटा समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाललगायत प्रभावशाली नेताहरुसँग भेटवार्ता गरी यथार्थ जानकारी लिएर बेइजिङ फर्किएको छ ।

यी घटनाक्रमका पछाडि सत्तारुढ दल नेकपामा प्रभाव पार्ने भारत र चीनको सक्रियता देखिन्छ । भारतको भुमिका यसपटक निकै संयमित र अदृश्य छ जसलाई त्यहाँका पूर्व कुटनीतिज्ञहरुले आक्रामक लेख र अभिव्यक्तिबाट खुलाउँदै गएका छन् । जस्तो सात राजनीतिक दल र तत्कालिन माओवादीबीच ७ मंसिर २०६२ मा भएको १२ बुँदे सम्झौतामा भुमिका खेलेका तत्कालिन भारतका विदेश सचिव श्यामशरणले गत हप्ता एउटा लेखमार्फत् ओलीलाई भारतको निरन्तर साथ दिन नहुने सुझाव दिए । उनको आशय भारतको साथ ओलीलाई छ भन्ने हो । नेकपालाई नै साथ दिएपनि अर्को पात्रमाथि ध्यान दिनुपर्ने उनको तर्क छ । उनले परिवर्तन उल्टेर हिन्दुराष्ट्रसहितको राजसंस्थाको पुनः स्थापना भारतको हितमा नहुने तर्क गरेका छन् । श्यामशरणले एकातर्फ ओलीको विकल्पमा जोड दिएका छन् । अर्कोतर्फ, वर्तमान राजनीतिक प्रणालीको रक्षा नै भारतको हितमा हुने तर्क गरेका छन् । यद्यपि, श्यामशरण भारतको वर्तमान सत्तासँग नजिक छैनन् । उनको नेपालबारेको टिप्पणी भारतले कतै श्यामशरणको पालाको नेपाल नीतिमा परिवर्तन त गर्दैछैन ? यो गम्भीर प्रश्न उठेको छ । यसमा आशंका उब्जनुमा नेपालमा राजनीतिक परिवर्तन भएपछि चीनको प्रभाव बढेको तथ्यहरु पनि कारण देखिन्छ । परिर्वतनले उल्टै नेपाल मामलामा भारतलाई क्षय पु¥याएको तर्क भाजपा निकट विज्ञहरुले गर्नु अर्थपूर्ण छ ।

नेपालमा चीनको बढ्दो प्रभावप्रति भारतीय विज्ञहरुमध्ये कतिपयले यहाँको वर्तमान राजनीतिक प्रणालीलाई पनि दोषी देखिरहेका छन् । नेपालमा भएको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भारतमा माओवादीलाई त्यतिबेला सघाऊ पुर्याइएको विषयमाथि गम्भीर प्रश्न उठाइएको छ । भारतका पूर्व जर्नेल गगनदीप बक्सीले विगतको त्यो कदमलाई भारतका लागि आत्मघाती भनेका छन् । उनले केही महिना अघि टेलिभिजन अन्तवार्तामा माओवादीलाई भारतले पालनपोषण गरेर नेपालको राजनीतिक प्रणाली नै ध्वस्त पारेर नयाँ अवस्था सृजना गर्नुलाई भारतका लागि आत्मघाती गोलको संज्ञा दिएका थिए । बक्सीले नेपालमा चीनलगायत अन्य बाह्य शक्तिको प्रभाव बढेको तर्फ संकेत गर्दै भनेका थिए, ‘अहिले भारतले यही परिणाम भोगिरहेको छ ।’ जनरल बक्सी भारतको वर्तमान सत्तासँग नजिक छन् । उनको अभिव्यक्तिले निकै अर्थ राख्छ ।

श्यामशरणले लिएको नेपाल नीतिबारे अहिले भारतभित्र गम्भीर प्रश्नहरु उठिरहेका छन् । विशेषगरी हिन्दुराष्ट्र र राजसंस्थाको अन्तपछिको परिवर्तनमा अन्य शक्तिले खेलेको तर्क कतिपयको छ । नेपालमा बढ्दो चिनियाँ प्रभावले यो तर्कलाई बल पुगेको छ । विगतमा भारतका राजदूतहरु नेपालको राजनीतिमा खुलेआम सक्रिय हुनेगरेकोमा यसपटक चिनियाँ राजदूत सक्रिय भइन् । चीनबाट चाटर्ड विमानबाट टोली नै आयो । यो घटनालाई भारतीय मिडियाले लगातार नेपालमा चिनियाँ प्रभाव र आन्तरिक मामलामा हस्तक्षेपकारी नीति लिएको भनी उठाउँदै आएका छन् । यतिसम्मकी विदेश विभागका उपमन्त्री यचौ आउनुभन्दा अघि तीनजना चिनियाँ नेकपा विवाद मिलाउन सडक मार्ग हुँदै आएको हिन्दुस्तान टाइम्सले खुलाएको छ । ती तीन नामहरु जेकुन लाई, डोङमे हुआङ र योङलिङ भएको उक्त अबबारको दाबी छ । नेपालमा बढ्दो चिनियाँ प्रभाव छर्लङ्ग देखियो जसले दिल्लीलाई समेत झस्कायो । यसले श्यामशरण नीतिले निरन्तरता पाउनुहुन्न भन्ने पक्ष भारतभित्र बलियो बन्दै गएको छ । आफ्नो नेपाल नीतिको निरन्तरताका लागि श्यामशरण लगातार लेख र अभिव्यक्तिमार्फत् जोड दिइरहेका छन् । उनले इन्डिया ट्रिबुनमा प्रकाशित लेखमा सिधै ‘हिन्दु सम्राट’ हरुले भारतविरोधी भावनालाई बढावा दिएको इतिहासले देखाएको तर्क गरेका छन् । उनले हिन्दु सम्राटहरुको भूमिकाबारे भनेका छन्,‘उनीहरुले विश्वासिलो पहरेदारका रुपमा नेपालमा चीनको स्वार्थमा सहयोगी भूमिका खेलेका छन् ।’ श्यामशरणले यसरी लेखमार्फत् नेपालमा हिन्दु राष्ट्र र राजसंस्था फर्काउन नहुने आशयसहितको तर्क लेखमार्फत् गरेका छन् । यसले कतै भारतको संस्थापन पक्ष नेपालमा गणतन्त्र र धर्मनीरपेक्षताको विकल्प त खोज्दै छैन ? यो प्रश्न स्वभाविक रुपमा उठ्न थालेको छ ।

अहिले देशमा जसरी राजनीतिक संकट आएको छ यसले पक्कै पनि राजनीतिक प्रणालीलाई दुर्घटनाको डिलमा पु¥याएको छ । गणतन्त्रपछिको दुई तिहाईको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भारी बहुमत हुँदा हुँदै पनि प्रतिनिधिसभाको बिघटन गराएका छन् । मध्यावधिको चुनाव घोषणा भएको छ । तर, चुनावी अस्त्रले मुख्य दलहरु सबैमा विवाद चुलिएको छ । यसले खतरनाक संकेतहरु गरेको छ । ओलीमाथि प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले गणतन्त्र र धर्मनीरपेक्षताको विरोधी भएको आरोप लगाएका छन् । नेकपा विभाजित भइरहँदा काँग्रेस र जनता समाजवादी पार्टीमा धाँजा फाटेको छ । गणतन्त्र ल्याउने दलहरु नै छिन्नभिन्न हुने क्रम चल्दा पक्कै पनि राजनीतिक प्रणाली धरापमा पर्न सक्छ । आन्तरिक रुपमा देशमा अस्थिरताले परम्परागत शक्तिहरुलाई उत्साही बनाइसकेको छ । नेपालमा प्रभाव राख्ने भारत र चीन जस्ता बाह्य शक्तिले पनि प्रत्यक्ष अप्रत्यक्ष यसमा मलजल गर्ने क्रियाकलाप गरेमा परिवर्तन टिक्ने सम्भावना कम हुन्छ । तर, परिवर्तन जोगाउने आन्तरिक शक्तिले नै हो । जसले परिवर्तनमा योगदान गरे ती शक्तिका नेतृत्वकर्ताहरु नै सत्ताको लडाईंमा केन्द्रित हुँदा हुर्किरहेको गणतन्त्र मृत्युको मुखमा पुग्दैछ ।

नेताहरुले आफू एउटै डुंगामा छु भनी भुलेर लडाईँ गर्न थालेका छन् । विस्तारै डुंगामा भ्वाङ पार्न थालेका छन् । कसै न कसैले त्याग नगर्ने, कसै न कसैले सहमतिको राजनीतिको शुरुवात नगर्ने हो भने डुंगा दुर्घटना हुन्छ र नेताहरुको राजनीतिक भविष्य अहिलेको राजनीतिक प्रणालीको अन्तसँगै समाप्त हुनसक्छ । त्यतिबेला कुनै विदेशी शक्तिले नेताहरुको उद्धार गर्नेछैन । बरु जुन शक्ति बलियो छ र जुन राजनीतिक प्रणालीबाट आफ्नो रणनीतिक स्वार्थ पूरा गर्न सकिन्छ त्यसैमा शक्तिराष्ट्रहरु हातेमालो गर्न पुग्नेछने ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्