Logo

पृथ्वीनारायण शाहको फेरि जय जयकार !



काठमाडौं, २१ पौष । गणतन्त्र ल्याउने जनआन्दोलन २०६२/६३ पछि नेपालमा राजा महाराजाहरुको शालिक तोडफोड हुनथाल्यो । त्यस क्रममा नेपाल एकीकरणकर्ता पृथ्वीनारायाण शाहको पनि शालिक तोडियो ।

२७ पौष मा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस सरकारका तर्फबाट मनाइँदै आइएकोमा रोक समेत लगाइयो । गणतन्त्र आएको भन्दै राजा महाराजाको जन्मदिन नमनाउने भन्दै रोक लगाइयो ।

अहिले फेरि पृथ्वी जयन्तीले महत्व पाउन थालेको छ । पृथ्वी जयन्ती मनाउन बलिउड नायिका मनिषा कोइराला, पूर्व डिआइजी रमेश खरेल, पर्यटन व्यवसायी भरत बस्नेतले मूल समारोह समिति नै बनाएर पृथ्वी जयन्ती मनाउने तयारी शुरु गरेका छन् । उनीहरुले आज पत्रकार सम्मेलन नै गरेर यसको जानकारी गराए ।

पृथ्वीनारायण शाहको जन्मदिन २७ पौषमा काठमाडौं आइपुग्ने गरी नेपाली सेनाको फौज गोरखाबाट प्रस्थान गरेको छ । पृथ्वीनारायण र उनको फौज हिंडेको बाटैबाटो काठमाडौं आउन सेनाको फौज बाँजागाँजासहित गोरखा दरबारबाट आज निस्किएको छ ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली पनि पृथ्वीनारायण शाहप्रति निकै सम्मान गर्छन् । उनले चन्द्रागिरी हिल्समा व्यवसायी चन्द्र ढकाललाई पृथ्वीनारायण शाहको शालिक राख्न सुझाव दिएका थिए । उनले केही वर्ष अघि चन्द्रागिरीमा पुगेपछि पृथ्वीनारायण शाहको जुङ्गा भएको शालिक राख्न भनेपछि ढकालले त्यस्तै गरेका थिए ।

नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको अपमानसम्मका गतिविधि भएपछि त्यसप्रति सर्वसाधारणमा आक्रोश समेत बढेको थियो । यसले पृथ्वीनारायणप्रति सम्मान र उनको जन्मदिन मनाउने उत्साह झन जागेको छ । फेरि पृथ्वीनारायण शाहको जयजयकार भएको छ ।



प्रतिक्रिया दिनुहोस्