Logo

सिटिजन्स बैंक र तिनाउ मिसन मर्ज हुँदै



काठमाडौं, २२ पुस । सिटीजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंक मर्ज हुने भएको छ । बुधबार दुई बैंकबीच नारायणहिटी पथमा आयोजित एक कार्यक्रमकाबीच अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो ।

सिटिजन्स बैंकको तर्फबाट सञ्चालक तथा मर्जर प्राप्ती समितिका संयोजक प्रवल जंग पाण्डे र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।


बैंक तथा बित्तीय सस्था एक आपसमा मर्जर तथा प्राप्ती सम्बन्धि नियमावली २०७३ अनुसार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुटबलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट लिमिटेडसँग अन्तिम सम्झौतामा हस्ताक्षर गरेको छ ।
तिनाउ मिसन राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंक हो । दुवै बैंकको विशेष साधारण सभाबाट पारित गरेका प्रस्तावलाई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि कारोबार सुरु हुने भएको छ ।

२०७७ पुस २२ गते सम्मको कारोबारको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब २४ अर्ब रुपैयाँ पुग्ने जनाएको छ । त्यसैगरी सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १ खर्ब २ अर्ब रुपैयाँ पुग्ने भएको छ । बैंकका अब कुल १६३ शाखा हुनेछन् ।

सम्झौता अनुसार, तिनाउ मिसन बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको चुक्तपुँजी हाल ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्तापुँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्