Logo

राष्ट्रियसभा बैठक : ओलीको आलोचना, राष्ट्रपतिलाई गाली गरेकोमा चिन्ता



पुष २३, काठमाण्डौ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले विभिन्न विषयको उठान गरेका छन् । अधिकांशले संसद विघटन असवैधानिक भएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् भने कतिपयले बचाउ गरेका छन् । राष्ट्रपतिलाई गाली गलौज गरिएको आपत्ति पनि जनाइएको छ ।

राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संविधान पढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा उहाले वैकल्पिक सरकार बन्न सकेन भने मात्र मध्यावधिमा जानसक्ने संवैधानिक व्यवस्था रहेको स्मरण संसद बिघटन असंवैधानिक रहेको बताए । प्रधानमन्त्री ओलीले चुनाव हारेका मान्छेलाई मन्त्री बनाएर र मन्त्रिपरिषद् विस्तार गरेर संविधानको खिल्ली उडाएको आरोप पनि लगाए ।

प्रधानमन्त्री ओलीका कारण गणतन्त्र मुलुकको लागि अफापसिद्ध हो भनेर प्रचार गर्नेहरु हौसिएका रायमाझीले बताए ।

त्यस्तै नेकपा ओली समूहका नेता राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले भने प्रधानमन्त्री ओलीको बचाउ गरेका छन् । प्रतिनिधिसभा विघटन हुँदा सत्यानाश नभएको बरु ताजा जनादेशका लागि जनतामाझ जाने अवसर पाएको उनको टिप्प्णी छ । भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालीहरूले युगौंयुगसम्म सम्झिरहने बताए ।

उनले भने, ‘चीनसँगको पारवहन सम्झौताले गर्दा नेपालले कहिल्यै नाकाबन्दीको सामना गर्नु नपर्ने भएको छ । केपी ओलीको यो गुण नेपालीहरूले युग–युगसम्म नेपालीहरूले सम्झिरहने छन् ।’ सरकारको संसद संसद विघटनको निर्णय संविधान बमोजिम भएको उनले दाबी गरे ।

बैठकमा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले बिभिन्न देशको उदाहरुण दिदै नेपालमा प्रधानमन्त्रीले विश्वासको मत लिन नसके मात्रै बल्ल प्रतिनिधिसभा विघटनतर्फ जाने व्यवस्था रहेको बताए । अधिवक्तासमेत रहेका विडारीले ओलीले चालेको कदमप्रति कटाक्ष गरेका थिए । सांसद विडारीले भने, ‘पार्टीले काम गर्न दिएन भने पार्टीको अध्यक्ष असफल रहेछन् भन्ने जान्नुपर्‍यो । संसदले अविश्वास प्रस्ताव ल्याउने भयो भने प्रधानमन्त्री असफल भयो त । अविश्वास ल्याउने त संसदको अधिकार हो । ३ वर्ष बजेट पारित गरिदियो । कार्यनीति पारित गरिदियो । विधेयक पारित गरिदियो । विवाद पार्टीमा भयो । प्रहार संसदलाई गर्ने रु जनता र व्यवस्थाको विरुद्ध प्रहार गर्ने ?’

राष्ट्रियसभा सदस्य विमला पौडेलले राष्ट्रपतिविरुद्ध सडकमा लगाइएको नाराले सम्पूर्ण महिलाको शिर निहु¥याएको जनाउँदै त्यस विषयमा सम्बन्धित दलले माफी माग्नुपर्ने बताईन् । केही दिनअघि काठमाडौंमा नेकपाको प्रचण्ड– माधव समूहले गरेको विरोध कार्यक्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी भएको थियो ।

त्यस क्रममा राष्ट्रपतिको यौनिकतामाथि हमला भएको भन्दै उनले भनिन्, ‘त्यहाँ जुन किसिमको नाराहरु लागे । यदि पुरुष राष्ट्रपति भएको भए र त्यही काम गरेको भए यस्तो नारा लाग्दैनथ्यो ।’ ३–३ जना पूर्वप्रधानमन्त्री सहभागी कार्यक्रममा राष्ट्रपतिको यौनिकताको विषयमा नाराबाजी हुनु लज्जास्पद र आपत्तिजनक भन्दै उनले माफी माग्न आग्रह गरिन् ।

समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमारसिंह यादवले प्रतिनिधिसभा विघटन औचित्यहीन रहेको जनाउँदै उक्त मुद्दा संवैधानिक इजलासमा पुगेको र त्यहाँ उचित निर्णय लिइने विश्वास व्यक्त गरे । यादवले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असामयिक कदम हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पदीय आचरण विपरीत काम गरेको सांसद यादवको आरोप छ ।

बैठकमा मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको थियो । राष्ट्रियसभाको हिउँदे अधिवेशनको तेस्रो बैठक शुक्रबार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्