Logo

नेपाली कम्पनी मल आयात गर्न असफल



काठमाडौं, पुस २८ । मल किन्ने ठेक्का पाएका कुनै पनि नेपाली कम्पनीले मल आयात गर्न सकेनन् । मल किनेको अनुभव नै नभएका कारण नेपाली कम्पनीले ठेक्का पाएर पनि मल आयात गर्न नसकेका हुन् । यस वर्ष मल किन्न नेपाली कम्पनीले पहिलोपटक ठेक्का पाएका थिए ।

नेपाली कम्पनीले पाएका ६ ओटै ठेक्का अलपत्र परेका छन् । कृषि सामग्री कम्पनी लिमिटेडले दिएको जानकारीअनुसार शैलुङ इन्टरप्राइजेजले गत वैशाख दोस्रो साता र साउन पहिलो सातामा पटकपटक गरी कुल ८० हजार मेट्रिकटन (मेटन) युरिया मल किन्नका लागि तीनओटा ठेक्का पाएको थियो । त्यसैगरी मुक्तिनाथ कृषि कम्पनीले साउन १८ गते २५ हजार मेटन युरिया र ३० हजार मेटन डीएपी किन्न तथा आयातको ठेक्का पाएको थियो । यी सबै ठेक्काको म्याद समाप्त भइसकेको छ ।

शैलुङ इन्टरप्राइजेजले गत भदौ र कात्तिक महीनामा नै दुईओटा ठेक्का अलपत्र पारिसकेको थियो भने उसले पाएको तेस्रो ठेक्काको म्याद मङ्सिर १३ गते सकिएको हो । मुक्तिनाथ कम्पनीको पनि मङ्सिर १८ र १९ गते दुवै ठेक्काको म्याद सकिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेका अनुसार पहिलोपटक ठेक्का पाएका यी दुवै कम्पनीलाई यसअघि मल किनेको तथा आयातको अनुभव नभएका कारण मल आयात गर्न नसकेका हुन् । ‘यी कम्पनीहरूले अन्तरराष्ट्रिय बजारमा आफूलाई छिराउनै सकेनन्, जसले गर्दा किसानले निकै दुःख पाउनुपर्‍यो,’ उनले भने ।

यी दुवै कम्पनीलाई मल आयातको अनुभव छैन भन्ने थाहा हुँदाहुँदै पनि सार्वजनिक खरीद ऐन र नियमावलीअन्तर्गत रहेर निकालिएको ४६ दिने ग्लोबल टेन्डरमा सबैभन्दा कम रकम बोलकबोल गरेकाले नै ठेक्का दिएको उनले बताए । आउँदा दिनहरूमा यस्तो समस्या आउन नदिनका लागि मन्त्रालयले छलफल गरिरहेको पनि उनले जानकारी दिए ।

ठेक्का सम्झौताको म्याद सकिँदा पनि मल आयात गर्न नसकेको भन्दै कृषि सामग्री कम्पनीले शैलुङ इन्टरप्राइजेजको धरौटी रकम जफत गरिसकेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्