Logo

हुलाकको अन्तर्राष्ट्रिय सेवा अझै अवरुद्ध



काठमाडौं, पुस २८ । कोरोना भाइरस महामारी सुरु भएसँगै बन्द भएको नेपालको अन्तर्राष्ट्रिय डाँक ढुवानी अझै सञ्चालनमा आउन सकेको छैन ।
हुलाक सेवा विभाग मातहत सञ्चालन हुने यो सेवा चैतदेखि बन्द भएको हो ।

डाँक ढुवानी गर्ने विमान कम्पनी थाई एयरको सेवा नेपालमा अवरुद्ध भएको भन्दै भारतबाहेक सबै मुलुकका सेवा बन्द राखिएको होध्र गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारका प्रमुख वेदप्रसाद भण्डारीले यो समस्या विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जानकारी गराइसकेको बताए ।

“अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्ने आवश्यक व्यवस्था गर्न हामीले माथि पत्राचार गरेका छौँ,” भारतबाहेकका मुलुकमा जाने पार्सल लिने काम नै बन्द रहेको जानकारी दिँदै उनले भने । भारतमा एयर इन्डियाबाट ढुवानी भइरहेको छ ।

नेपालको हुलाकबाट विशेष गरी भारत, अमेरिका सिङ्गापुर, रुस, जापान र खाडी मुलुकमा चिठीपत्र तथा मालसामान बढी ढुवानी हुने गर्छ तर सरकारको हुलाक संरचनाले काम गर्न नसक्दा निजी कुरियर सेवा प्रदायकले भने व्यापार बढाउनपाएका छन् ।

अन्तर्राष्ट्रिय डाँक सेवा बन्द हुँदा नेपाली हुलाकको आम्दानी निकै घट्ने देखिएको छ । सामान्य अवस्थामा नेपाली हुलाकले वार्षिक १८ करोड रुपियाँ आम्दानी गर्ने गरेको थियो तर यस वर्ष यो कमाइ चार करोड रुपियाँमा सीमित हुने देखिएको छ ।

सन् २०१६ मा हुलाक सेवा विभागले ठेक्का प्रक्रियाबाट ढुवानीको जिम्मा थाई एयरलाई दिएको थियो । सन् २०१९ मा सम्झौता अवधि सकिएपछि बोलपत्र आह्वान गर्दा अरू विमान कम्पनीले चासो नदेखाएपछि थाईसँगै पुनः सम्झौता गरिएको विभागले जनाएको छ ।

कोभिड–१९ महामारीका कारण थाई एयरको काठमाडौँ उडान बन्द भएपछि नेपाली हुलाकका सामान ढुवानी गर्न थाई एयरले पनि कुनै वैकल्पिक व्यवस्था गरेको छैन । विभागले पनि यसको वैकल्पिक व्यवस्था गर्न चासो देखाएको छैन ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्