६ वडाको जिम्मेवारी एक सचिवलाई


खलङ्गा, २८ पुस: जुम्लाकको सिञ्जा गाउँपालिकामा कर्मचारी अभावका कारण एकै जना कर्मचारीलाई ६ वटा वडा कार्यालयको प्रशासनिक जिम्मेवारी हेर्नुपरेको छ ।

गत पुस १५ गतेदेखि सबै वडाको काम एकजना सचिव दलबहादुर रोकायाले गरिरहेको छ । एकजना कर्मचारीको भरमा ६ वटा वडा सञ्चालन गर्नुपर्दा निकै कठिन भइरहेको वडा सचिव रोकायाले बताए । कर्मचारी अभावका कारण वडा कार्यालयमा हुने काममा समस्या हुने गरेको सो वडाका स्थानीयवासी बताउँछन् ।

वडा कार्यालयमा केही काम गर्नु परे सचिव खोज्दै जानुपर्ने अवस्था रहेको स्थानीयवासी रत्नवीर बुढाले बताए । वडामा रहेका अन्य सहायक कर्मचारीको सहयोगमा सिफारिस, बसाइँसराई जस्ता कागजपत्र मिलाएर सचिवलाई दस्तखत गर्ने गरिएको वडाअध्यक्ष रणबहादुर रोकायाले बताए ।

गाउँपालिकामै कर्मचारी अभाव भएकाले वडादेखि पालिकाको प्रशासनिक काममा पनि समस्या भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावतले बताए । उनले भने, “कर्मचारी अभावले सेवाप्रवाहमा त्यहाँका स्थानीयवासीलाई असर परेको छ ।” कर्मचारी नहुँदा वडा कार्यालयका कामकाज चलाउन पनि निकै कठिन भइरहेको गाउँपालिका अध्यक्ष रावलले बताए ।-रासस/File Photo