Logo

शिक्षाका सरोकारवाला एक्यबद्ध भएर कार्य गर्न सहमत



सप्तरी, २९ पुस । सप्तरीका शिक्षाका सरोकारवाला एक्यबद्ध भएर कार्य गर्न सहमत भएका छन् । विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयमा बुधबार आयोजित शिक्षक, अभिभावक र विद्यार्थीहरूबीचको अन्तरक्रियाका सहभागीहरू एक्यबद्ध भएर कार्य गर्न सहमत भएका हुन् ।

उनीहरू विद्यालयमा निगरानी राख्न, नियमित रुपमा अन्तरक्रिया गरी समास्या समाधानको प्रयत्न गर्न, पालना गर्नुपर्ने नियम बनाउन, अनुशासन कायम राख्न र प्रभावकारी पढाइका लागि प्रयत्नशील रहन सहमत भए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र विष्णुपुर गाउँस्तरीय मानव अधिकार निगरानी समूहको सहकार्यमा भएको अन्तरक्रियामा सहभागीहरुले अधिकांश समस्याहरु स्थानीय स्तरबाट समाधान गर्न सकिने बताए ।

सहभागीहरूले कोभिड–१९ का कारण क्वारेण्टाइन राखिएको विद्यालयमा भौतिक सम्पती क्षति भएकाले स्थानीय सरकारको ध्यान जानुपर्ने धारणा राखे । शिक्षा इकाइ प्रमुख रामेन्द्र यादवले क्वारेण्टाइन राखिएका गाउँपालिकाका पाँच विद्यालयमध्ये दुई विद्यालयमा बढी भौतिक साधनहरूमा क्षति पुगेको बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य उमेशकुमार मण्डलले क्वारेण्टाइन राखिएकाले क्षति भएको भौतिक सामाग्री र ट्युववेल उपलब्ध गराउने प्रतिबद्धता गाउँपालिकाले पुरा नगरेको गुनासो गर्नुभयो । वडा सदस्य रामकुमार रायले प्रधानाध्यापकले नलगेका कारण ट्युववेल गाउँपालिकामा थन्किएको भन्नुहुँदै विद्यालय सञ्चालनमा आएपछि ३५ कार्टुन सेनेटेरी प्याड र मास्क विद्यालयलाई उपलब्ध गराएको जानकारी गराउनु भयो । उहाँले विद्यार्थीहरूलाई आर्कषित गर्न र किशोरीमैत्री कोठा तयार गर्न लाग्ने खर्च गाउँपालिकाले छुट्याएकोले योजना साथ गाउँपालिकामा पेश गर्न विद्यालयसँग आग्रह गरे ।

विद्यार्थीहरूले शिक्षकदेखि विद्यार्थीहरू सम्म कक्षामा ढिलो आउने गरेको, विद्यार्थीहरू पोशाक र मास्क नलगाएर आउने गरेको, सेनेटेरी प्याड प्रयोग गर्ने चेन्जिङ्ग रुमको व्यवस्था नभएको, शौचालय फोहोर रहने गरेको, ट्युववेलको अभाव रहेको, नेपाली भाषाको प्रयोग नहुने गरेको जस्ता समस्याबारे जानकारी गराए । विद्यार्थीहरू गणेश मण्डल, धर्मेन्द्र साह, मुकेशकुमार मण्डल, भरतकुमार साह र अम्बिका मण्डलले समस्याबारे जानकारी गराउँदै शैक्षिक क्षेत्रका समस्या समाधानका लागि जनप्रतिनिधी, शिक्षक र विद्यालय व्यवस्थापन समितिले चासो दिनुपर्ने माग गरे ।

शिक्षक महेन्द्रप्रसाद मण्डलले व्यवस्थापनमा कमजोरी रहेको स्विकार्दै विद्यार्थीहरू गृहकार्य नगर्ने र नियमित विद्यालय नआउनाले समान ढंगले सिकाउन समस्या परेको बताए ।

अभिभावक योगेन्द्रप्रसाद मण्डलले सम्पन्न, शिक्षित अभिभावकहरूले निजी विद्यालय रोज्ने र कमजोर आर्थिक अवस्थाका गरिबले सामुदायिक विद्यालयमा पढाउनु पर्ने वाध्यताले अभिभावकहरू विद्यालयको निगरानी गर्न असमर्थ रहेको बताए ।
कोभिड–१९ का कारणले लथालिङ्ग बनेको विद्यालयको अवस्थामा क्रमिक सुधार आइरहेको बताउनु हुँदै सहायक प्रधानाध्यापक जगदीशप्रसाद यादवले विस्तारै व्यवस्थित गरिदै लैजाने विश्वास दिलाए ।

अन्तरक्रियाको सहजिकरण गर्दै इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेलले नीतिगत व्यवस्था अनुरूप विद्यालयका सरोकारवालाहरूले आ–आफ्नो काम कर्तव्य र अधिकारवारे जानकारी लिनु पर्ने तथा सो अनुसार पारदर्शी र जवाफदेही ढंगले काम गर्नुपर्ने बताए ।

विद्यार्थीको पूर्ण शारीरिक र मानसिक विकासका साथै बौद्धिक र व्यक्तित्व विकासका लागि गुणस्तरीय बाल केन्द्रित सिकाई वातावरण र प्रभावकारी शिक्षण प्रक्रियाका लागि शिक्षक र अभिभावकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनँले बताए ।

गाउँस्तरीय मानवअधिकार निगरानी समूहका कोषाध्यक्ष मुन्नी खातुनको अध्यक्षतामा भएको कार्यक्रमको आरम्भमा सहजकर्ता दिपककुमार यादवले नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत शिक्षा सम्बन्धि हक, शिक्षा सम्बन्धी ऐन, नीति, नियम, बाल अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धि, प्रतिवद्धता बमोजिम विद्यालय शिक्षामा बालबालिकाले पाउने अधिकारबारे चर्चा गरेका थिए ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत शिक्षा अधिकार अन्तरक्रिया कार्यक्रममा सहभागि प्रधानाध्यापक कुशेश्वर मण्डल, राजविराज नगरस्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुवर साह, विष्णपुर गाउँस्तरीय मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूले विद्यालयको अवस्था सुधार गर्न शिक्षासँग सरोकार राख्नेहरू जिम्मेवार बन्नु पर्ने धारणा राखेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्