Logo

मेगा बैंकको १० औं बार्षिक साधारणसभा सम्पन्न, १३.०५ प्रतिशत लाभांश पारित



काठमाडौं, २९ पुस । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयर सहित १३.०५ प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौँमा बुधबार सम्पन्न बैंकको १० औं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको १३.०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७ सय ५१ रुपैँया ७९ पैसा लाभांश पारित गरेको हो । त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५ सय ४१ रुपैँया ६१ पैसा बोनस शेयर र ३.०५ प्रतिशतले हुन आउने रकम ४० करोड ६३ लाख ४२ हजार २ सय १० रुपैंयाँ १९ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको छ ।

साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । सभाले गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र शेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

बैंकले कोभिडको विषम परिस्थितिमा नेपाल सरकार तथा सबै प्रदेश सरकारहरुलाई कोभिडको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड र ७ वटै प्रदेश सरकारले स्थापना गरेको कोषमा ५–५ लाख रुपैंया गरी १ करोड ३५ लाख रुपैंया सहयोग गरेको छ ।

गत आर्थिक बर्षमा मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार गरेपश्चात ५८ वटा जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ । अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०६ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्