Logo

भारतको इशारामा प्रधानमन्त्री ओलीले पार्टी विभाजन र प्रतिनिधिसभा विघटन गरेको प्रचण्डको आरोप



काठमाडौं, २९ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भारतको इशारामा चलेको आरोप लगाएका छन् । नेकपा विभाजन र प्रतिनिधिसभा बिघटन पनि भारतको इशारामा गरेको प्रचण्डको आरोप छ ।

‘उहाँले अहिले पार्टी विभाजत गर्ने, संसद भंग गर्ने भारतले भनेर गरेको सारा जनताले बुझेका छन्,’ प्रचण्डले आज नेकपाको आफ्नो समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भेलामा भने, ‘केपीजी यसलाई के भन्नुहुन्छ ?’ उनले भारतको गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग ओलीले बालुवाटारमा गरेको भेटघाटमाथि पनि प्रश्न उठाए । गुप्तचरसँग तीन घन्टा बालुवाटारभित्र एक्लै कुरा गरेर अपारदर्शी तरिका अपनाएको बताए ।

असारताका ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको छ भनेको स्मरण गराउँदै प्रचण्डले त्यतिबेला भारतले भनेकै भरमा हटाउनु हुँदैन भनेर नहटाएको बताए । उनले भने, ‘असारको हाम्रो स्थायी समिटिको बैठक बस्दा त मलाई भारतले हटाउन खोजेको छ । मेरा साथीहरुले नि हटाउन खोजेका छन् भन्नुहुन्थ्यो । त्यतिबेला भारतले भन्दा हटाउने हो र भनेर हामीले हटाएनौं ।’

प्रचण्डले ओलीको पछिल्लो गतिविधि भारतले नै भनेर भइरहेको आरोप लगाए । नेपाली जनताले ओली भारतले भनेबमोजिम गरिरहेको बुझेको उनको टिप्पणी थियो ।
नेकपा विभाजन र संसद बिघटनमा छिमेकीको भुमिकाबारे टिकाटिप्पणी भइरहँदा प्रचण्डको पछिल्लो भनाई सार्वजनिक भएको हो । नेकपा विभाजन रोक्न चीनले खुल्ला र गोप्य तरिकाले कसरत गर्दै आएको थियो । तर, भारतले यसबारे मात्र नोटमा राखेको टिप्पणी गरेको छ । तर, भारतमाथि कतिपयले नेकपा विभाजनमा भुमिका खेलेको आरोप लगाइरहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्