Logo

एकै दिन उठ्यो चौँतीस अर्ब राजस्व



काठमाडौं, माघ २ । सरकारले एकै दिन करिब ३४ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको अन्तिम दिन अर्थात् पुस २९ गते मात्र ३३ अर्ब ७१ करोड रुपियाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यससँगै चालू आवको छ महिनाभित्र सरकारले चार खर्ब २२ अर्ब २३ करोड रुपियाँ राजस्व उठाएको छ । पुस २८ सम्म सरकारको राजस्व सङ्कलन कुल तीन खर्ब ८८ अर्ब ५१ करोड रुपियाँ थियो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार मात्रै २० अर्ब ४४ करोड रुपियाँ कर राजस्व सङ्कलन भएको छ । त्यस्तै गैरकर शीर्षकतर्फ १३ अर्ब २७ करोड रुपियाँ राजस्व उठेको छ । यससँगै पुससम्म कर राजस्व तीन खर्ब ८६ अर्ब रुपियाँ सङ्कलन भएको छ भने ३५ अर्ब ७० करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

सरकारले चालू आवमा १० खर्ब ११ अर्ब रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा नौ खर्ब १२ अर्ब कर राजस्व सङ्कलनको लक्ष्य तोकेको छ । पुससम्म सङ्कलित कर राजस्व लक्ष्यको ४२।३४ प्रतिशत हो ।

त्यस्तै ९८ अर्ब ८० करोड रुपियाँ गैरकर राजस्व सङ्कलनको लक्ष्य राखिएकामा पुससम्म ३६.१३ प्रतिशत सङ्कलन भएको हो । राजस्वसहित अनुदान र अन्य किसिमका प्राप्तिसमेत गरेर सरकारले पुस मसान्तसम्म चार खर्ब ५५ अर्ब रुपियाँ प्राप्त गरेको छ । कार्यालयका अनुसार पुससम्म सरकारले पाँच अर्ब ३० करोड रुपियाँ अनुदान प्राप्त गरेको छ ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्