Logo

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला



–खेमराज गौतम गलकोट, २ माघ: कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहे पनि बागलुङमा अझैंसम्म पिसिआर प्रयोगशाला स्थापना भएको छैन ।

सरकारले धौलागिरि अस्पतालमा पिसिआर प्रयोगशाला राखेर बागलुङमै कोरोना परीक्षण गर्ने गत असार १२ गते निर्णय गरेको थियो । निर्णय भएको छ महिना बित्दा सक्दासमेत पिसिआर प्रयोगशाला स्थापना नभएको हो । धौलागिरि अस्पतालमा पिसिआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको तीन महिनापछि गत कात्तिक २७ गते पीसिआर मेसिन खरिदका लागि बोलपत्र आह्वान गरिएको थियो ।

बोलपत्र गरिएको दुई महिना पूरा हुँदासमेत पिसिआर प्रयोगशाला निर्माणको अझै टुङ्गो लागेको छैन । धौलागिरि अस्पतालले पिसिआर निर्माणमा गरेको ढिलाइप्रति नागरिकको तीव्र गुनासो र आलोचना छ । उनीहरुले कोरोना भयावहका बेला फास्ट ट्र्याकबाट काम गर्नुपर्नेमा महिनौं लाग्ने गरी ढिलाई गरिनु दुःखद र लापरवाही भएको बताएका छन् ।

सरकारले बजेट पठाउँदासमेत प्रयोगशाला स्थापना हुन नसक्नु लज्जाको विषय भएको अधिकारकर्मी राम शर्माले बताउनुभयो । “जुन बेला बागलुङमा कोरोना भाइरस सङ्क्रमणको अत्यन्तै भयग्रस्त अवस्था थियो, त्यतिबेला १५ दिन रिपोर्ट कुर्नुपर्ने अवस्था थियो, अहिले पनि कोरोनाकै कारण ज्यान गुमाइरहेका घटना छन्” शर्माले भन्नुभयो, “अहिले परीक्षण र सक्रिय सङ्क्रमित कम हुँदा पोखराबाटै एकै दिनमा रिपोर्ट आउने अवस्था भइसक्यो, यहाँ यस्तो संवेदनशील विषयमा पनि धेरै ढिलाइ गरिएको छ । अब खोप र पिसिआर मेसिन सँगसँगै आउला जस्तो छ ।”

निर्णय भए पनि तीन महिनासम्म बजेट नआएको र ढिला बजेट आएपछि खरीद प्रक्रियामा जाँदा समय लागेको अस्पतालले जनाएको छ । नेपाल सरकारले अस्पताललाई तीन महिनाअघि पिसिआर मेसिन खरिद गर्नका लागि रु एक करोड पठाए पनि बजेट अपर्याप्त भएको भन्दै खरीद प्रक्रियामा जान सकेको थिएन । धौलागिरि अस्पतालमा पिसिआर मेसिन खरीद गर्न रु एक करोड लाग्ने भएपनि प्रयोगशाला व्यवस्थापनका लागि पर्याप्त बजेट नभएपछि पिसिआर ल्याब व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले रु ४० लाख विनियोजन गरेको थियो ।

त्यसपछि मात्रै धौलागिरि अस्पतालले पिसिआर मेसिन खरीद र प्रयोगशाला बनाउन प्रक्रिया थालेको छ । शुरुमा बजेट नभएको र पछि प्राविधिक रुपमा केही जटिलता भएकाले यस विषयमा बुझ्न समय लागेको धौलागिरि अस्पताल बगालुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र वि पोखरेलले जानकारी दिनुभयो । “मेसिन खरीद गरेपछि ल्याब सञ्चालनमा आउनु पर्दछ, केही औँजार छुट भएमा पुनः सञ्चालनमा ढिलाइ हुन्छ, त्यसैले लागत अनुमान गर्न समय लागेको हो”, उहाँले भन्नुभयो, “हामीसँग बायोलोजिकल प्राविधिकको अभावका कारण ढिला भएको हो, अहिले बोलपत्र प्रक्रियामा गएपछि चार कम्पनीले पिसिआर ल्याउन ठेक्का हालेका छन्, केही दिनमै कम्पनी छनोट गर्नेछौं ।”

ठेक्का प्राप्त भइसकेपछि ठेकेदार कम्पनीले तीन महिनाभित्र ल्याब स्थापना गर्ने समय भएकाले त्यतिबेलासम्म नेपालमा खोपसमेत आउने सम्भावना रहेको आँकलनसमेत गरिन्छ । यद्यपि, यो ल्याब अन्य प्रयोजनमा समेत उपयोग गर्न सकिनेछ । पिसिआर परीक्षण मेसिन आइहाले पनि प्रयोगशाला सञ्चालनका लागि समेत दक्षजनशक्तिको अभाव रहेको अस्पतालले जनाएको छ । पिसिआर प्रयोगशाला स्थापना भइसकेपछि दक्षजनशक्तिसमेत सरकारले पूरा गर्नेमा धौलागिरि अस्पताल आशावादी छ । साविक धौलागिरि अञ्चलको सदरमुकाममा रहेको बागलुङको धौलागिरि अस्पतालमा पिसिआर परीक्षण प्रयोगशाला भएमा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा सङ्कलन गरिएको नमूना परीक्षणका लागि गण्डकी प्रदेशको राजधानी पोखरा पठाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । कोरोना आशंकामै लामो समय उपचार नपाउने अवस्थाको पनि अन्त्य हुनेछ ।

अहिले बागलुङबाट परीक्षणका लागि पठाइएको कोरोना सङ्क्रमणको नतिजा आउन तीन दिन लाग्ने गरेको छ । आम नागरिकबाट परीक्षणको दायरा बढाउनुपर्ने माग फेरि उठ्न थालेको छ । गत असार १२ गते सरकारले बागलुङसहित विभिन्न स्थानमा पिसिआर मेसिन थप गर्ने निर्णय गरेको थियो । अब पिसिआर प्रयोगशाला तीन महिनाभित्र सञ्चालनमा आउने अस्पतालले दाबी गरेको छ ।

पाँच विद्यालयमा नर्सिङ सेवा शुरु

बागलुङ नगरपालिकाका पाँच विद्यालयमा नर्सिङ सेवा शुरु गरिएको छ । विद्यालयमा स्वास्थ्य परीक्षण र सचेतना प्रदान गर्ने उद्देश्यले बागलुङ नगरपालिकाका पाँच विद्यालयमा नमूना परीक्षणका लागि नर्सिङ कार्यक्रम शुरु गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखासँगको समन्वयमा बागलुङ नगरपालिकाले पाँच विद्यालयमा एक महिनादेखि नर्सिङ सेवा प्रदान गर्न थालेको छ । विद्यालयमा आउने स्वास्थ्य समस्या, सचेतना, स्वास्थ्य शिक्षा र वातवरणीय शिक्षाका लागि विद्यालयमा नर्सिङ कार्यक्रम शुरु भएर सेवा प्रदान गर्न थालएको हो ।

विद्यालयमा अध्ययनरत किशोरीका लागि सेनेटरी प्याडको प्रयोगलगायत विषयमासमेत शिक्षा प्रदान गरिनेछ । पाँचवटै विद्यालयमा एक÷एक जना स्टाफ नर्स नियुक्ति भएर विद्यालयमा हाजिर भइसकेको नगर स्वास्थ्य शाखा संयोजक जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिनुभयो । उहाँले विद्यालयस्तरबाटै स्वास्थ्य सचेतता प्रदान गर्दा विद्यार्थीको परिवार, विद्यालय र समाजमा स्वास्थ्य सचेतना पु¥याउन सकारात्मक प्रभाव पार्ने बताउनुभयो । गण्डकी प्रदेशमा नै नमूनाका रुपमा बागलुङ नगरपालिकाका पाँच विद्यालयमा नर्सिङ कार्यक्रम शुरु भएको बागलुङ नगरपालिकाका प्रमुख जनकारज पौडेलले जानकारी दिनुभयो ।

“विद्यालयमा नर्सले स्वास्थ्य शिक्षा र प्राथमिक उपचार गर्नेछन्” उहाँले भन्नुभयो, “विद्यार्थीलाई स्वास्थ्यप्रति जागरुकता, वातावरण तथा सरसफाइ र सामान्य उपचारको व्यवस्था गर्दा निकै सहज हुन थालेको छ ।” बागलुङ नगरपालिकाभित्रका विद्यामन्दिर, रुद्रेपिपल, गणेश, बौडेचौर र तितौरे माध्यामिक विद्यालयमा नर्सिङ तथा स्वास्थ्यसेवा कार्यक्रम शुरु भएको छ ।

नर्ससहित विद्यालयमा आवश्यक औषधि र सामान्य उपकरणको व्यवस्थासमेत गरिएको छ । उनीहरुले सरसफाइ, प्राथमिक उपचार, कान, आँखा परीक्षण, कुपोषण भए÷नभएको जानकारी दिने र जनचेतना फैलाउनेछन् । विद्यालयको भौगोलिक अवस्था, विद्यार्थीको सङ्ख्या अधिक तथा स्वास्थ्य सेवा टाढा रहेको जस्ता सूचकका आधारमा पहिलो चरणमा पाँच विद्यालय छनोट गरिएको महाशाखाको अस्पताल नर्सिङ शाखाले जनाएको छ । शाखाका अनुसार छात्राको महिनावारी हुँदाको अवस्थामा गरिने स्वास्थ्य हेरचाहदेखि आकस्मिक दुर्घटनामा प्राथमिक उपचारसम्मको व्यवस्था नर्सले गर्नुहुनेछ । स्टाफ नर्सले विद्यार्थीको तौल तथा उचाइका आधारमा वृद्धि र विकास भए÷नभएको जानकारी अभिभावकलाई दिने र त्यस सम्बन्धी आवश्यक सल्लाह र सुझावसहित जानकारी दिनेछन् ।

नेपालमा भर्खरै मात्र विद्यालयस्तरबाटै स्वास्थ्य सचेतना तथा सामान्य औषधि उपचारका लागि शुरु भएको नर्सिङ स्वास्थ्यसेवा प्रदेश नम्बर १, २ र ३ ले केही स्थानीय तहका विद्यालयमा नमूनाका रुपमा लागू गरिसकेका छन् । स्वास्थ्य मन्त्रालयले गण्डकी प्रदेशको बागलुङ नगरपालिकामा उक्त कार्यक्रम शुरु गरिएका हो । नर्सिङ स्वास्थ्य सेवाले स्वास्थ्य सेवाको पहुँचवाट टाढा रहेका विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममार्फत स्वस्थ रहनका लागि आवश्यक खानपान, ब्यायाम, औषधि उपचारसेवालगायत विषयमा जानकारी गराइने छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्