Logo

भारतमा उत्पादित कोभिसिल्डलाई नेपालमा अनुमति, खोप ल्याउनेबारे सम्झौताको संंकेत



काठमाडौं, २ माघ । नेपालमा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोना भाइरसविरुद्धको खोप आउने निश्चितप्रायः भएको छ । औषधी व्यवस्था विभागले कोभिसिल्ड नामको उक्त खोपलाई प्रयोगको अनुमति प्रदान गरेको छ ।

आपतकालिन रुपमा प्रयोगको अनुमति पाएको कोभिशिल्ड ल्याउनेबारे भारतसँग आज कुराकानी समेत भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका क्रममा दुई देशबीचको संयुक्त आयोगको बैठकमा यसबारे कुराकानी भएको नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै राजदूत निलाम्बर आचार्यले जानकारी दिए । उनले भ्याक्सिनबारे गम्भीर कुराकानी भएको बताए । भारतले अनुदान र सुपथ मूल्य दुवैमा खोप दिनेबारे सकारात्मक जवाफ दिएको उनको भनाई छ ।

 

यसैगरी, इन्डिया टुडेले नेपालले एक करोड १० लाख डज कोरोनाविरुद्धको खोप माग गरेको खबर प्रकाशित गरेको छ । यसबारे भारत सकारात्मक भएको उल्लेख छ ।
भारतमा कोभिशिल्ड र कोभ्याक्सिन गरी दुईवटा खोप भोलिबाट प्रयोगमा ल्याइँदैछ । उसले केही दिनमै निर्यातको अनुमति पनि प्रदान गर्दैछ । छिमेकीलाई भारतले खोपका लागि प्राथमिकतामा राखेको जनाइसकेको छ । त्यसमा नेपाल पनि पर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्