Logo

ओलीको भारतसँगको सम्बन्धप्रति प्रचण्ड-नेपाल समूहले गर्यो आशंका



काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँगको सम्बन्धलाई लिएर प्रचण्ड-माधव समूहको नेपाल कम्युनिस्ट पार्टीले आशंका व्यक्त गरेको छ । आज स्थायी कमिटी बैठकबाट ओलीको भारतसँगको सम्बन्धलाई लिएर आशंकासहितको प्रस्ताव पारित गरेको हो ।

ओलीले प्रतिनिधि सभा विघटन गरिएको हालको समयमा सरकारका तर्फबाट भारत भ्रमण गराएर वार्ता आरम्भ गर्ने कार्य सन्देहपूर्ण रहेको प्रचण्ड माधव समूहले जनाएको छ । प्रस्तावको पहिलो बुँदामा भनिएको छ , ‘भारतसँग सार्थक वार्ता गर्नको लागि आग्रह गर्दा त्यसतर्फ ध्यान नदिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरिएको एवम् संविधान विपरितका काम गर्दै सरकार काम चलाउरुपमा रहेको हालको समयमा भारत भ्रमण गरी वार्ता आरम्भ गर्ने कार्य सन्देहपूर्ण छ ।’

लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभागमा हकभोग कायम गर्न नेपाली जनता र संसदले एकमत भएर भारतसँग सार्थक वार्ताको आग्रह गर्दा अहिलेको अवस्थामा एक्लै वार्ता आरम्भ गर्नुलाई सन्देहपूर्ण भनेको हो ।

यसैगरी, भारतीय जीन्युजका सुधीर चौधरीलाई नेपाल विरोधी गतिविधि चलाउँदै आएको भन्दै उनीसँग सरकार निवास, बालुवाटारमा प्रधनमन्त्री ओलीले अन्तवार्ता दिएकोमा समेत आपत्ती जनाएको छ ।

आजको बैठकमा आन्दोलनको मोडालिटी, १६ माघमा काठमाडौंमा शक्ति प्रदर्शनको तयारीबारे छलफल भएको बुझिएको छ ।-तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्