Logo

‘विकासलाई अड्काउनु हुँदैन’



काठमाडौं, माघ ३ । राष्ट्रिय विकास समस्या समाधान समितिले कोरोना भाइरस महामारीका कारण अवरुद्ध विकास निर्माण प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको ४८औँ बैठकले कोरोना महामारीका कारण विकास निर्माण र पुँजीगत खर्च सन्तोषजनक हुन नसकेकाले त्यसलाई अब तीव्रता दिने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण यस्तो बैठक यसपटक ढिला गरी बसेको थियो । बैठकमा गत आर्थिक वर्षका समग्र समीक्षा तथा चालू आर्थिक वर्षको प्रथम चौमासिक समीक्षा स्वीकृत गरिएको थियो । मुख्यमन्त्री, योजना आयोगका सदस्य, विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित बैठकले अबका दिनमा कोरोना महामारीलगायत कार्यविधिका समस्याका आधारमा आयोजना निर्माण नरोक्ने र समस्यालाई तत्काल सम्बोधन गरेर अगाडि बढ्ने निर्णयसमेत गरेको छ ।

बैठकमा प्रधामन्त्री ओलीले विकास निर्माणमा अब कुनै पनि बहानाले ढिलासुस्ती गर्न नहुने निर्देशन दिएका थिए । “समृद्ध नेपाल सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अब ढिलासुस्ती नगरौँ, कोरोना महामारी छ, कार्यविधिको समस्या छ भन्नेजस्ता कुरामा विकासलाई अड्काउनु हुँदैन”, उनले भने, “अब सबै विकासका गतिविधि तथा योजना पूर्णरूपमा निर्वाध तरिकाले सञ्चालन गर्न सङ्घ, प्रदेश र स्थानीय सरकार सक्रिय हुनुपर्छ ।” उनले सरकारले बनाएका योजना, निर्माण तथा पारदर्शिताका मापदण्डलाई पूर्ण पालना गर्न पनि निर्देशन दिए ।

राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीका अनुसार बैठकले विकासमा प्रदेश र स्थानीय तहले गरेका प्रगतिलाई राष्ट्रिय प्रतिवेदनमा समावेश गर्ने निर्णय गरेको छ । “विकासमा स्थानीय र प्रदेश सरकारको योगदान महत्वपूर्ण हुने भएकाले अब राष्ट्रिय प्रतिवेदनमा त्यसलाई पनि समावेश गरिने भएको हो”, उनले भने। बैठकले १५औँ योजनाका राष्ट्रिय परिमाणात्मक लक्ष्य तथा सूचकका आधारमा एकीकृत र प्रष्ट रूपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्