Logo

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणमा के के भयो



ऋषि धमला, नयाँ दिल्ली । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिवसीय भारत भ्रमण पूरा गरी स्वदेश फर्कदैछन् । भारत भ्रमणका क्रममा उनले सीमा समस्या समाधान, कोरोना भाइरसविरुद्धको भ्याक्सिन, पेट्रोलियम पाइपलाइन विस्तार, रेलमार्ग विस्तार, ऊर्जालगायतका विषयमा महत्वपूर्ण कुराकानी गरेका छन् ।

ज्ञवालीले शुक्रबार भारतका विदेशमन्त्री एस जयशंकरसँग एक्ला एक्लै भेटवार्ता गरे । यो भेट उनको भ्रमणको सबैभन्दा महत्वपूर्ण क्षण बन्यो । एक्ला एक्लै भेटमा ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सीमा, ऊर्जालगायतका विषयमा कुराकानी गरेको बुझिएको छ ।

दुई देशको सयुक्त आयोगको बैठक पनि शुक्रबार नै बस्यो । दुवै देशका परराष्ट्रमन्त्री, सचिवलगायतका उच्च अधिकारी बसेर ऊर्जा, सीमा व्यवस्थापन, कनेक्टिभिटीलगायतका विषयमा छलफल गरेका थिए । भारतमा उत्पादित कोरोना भाइरसको भ्याक्सिन नेपाल ल्याउनेबारे पनि छलफल भएको थियो ।

नेपाल भारतबीचको संयुक्त विज्ञप्तिमा कनेक्टिभिटी, आर्थिक, व्यापार, ऊर्जा, तेल र ग्याँस, जलस्रोत, राजनीतिक र सुरक्षाको मामलामा कुराकानी भएको उल्लेख छ । पर्यटन, संस्ृकति, शिक्षा र क्षमता अभिवृद्धिमा पनि कुराकानी भएको छ ।

नेपालले भारतलाई कोभिशिल्ड र कोभ्याक्सिनको उत्पादनका लागि बधाई दिदै नेपाललाई प्राथमिकतामा राखेर भ्याक्सिन दिन आग्रह गरेको छ । अन्तरसीमा रेल्वे, ब्रोड गजको रेल्वेको विकासबारे पनि कुराकानी भएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग आज विहान भेटवार्ता गरेका छन् । सिंहले नेपाल र भारतबीचको सम्बन्ध राजनीति मात्र नभई जनताबीचको पनि भएको बताएका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणको पहल भएपनि हुन सकेन । उनले मोदीलाई भेटी प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश सिधै भन्न प्रयास गरेका थिए ।

सीमा समस्या समाधानका लागि नेपाली पक्षले कुरा राखेपनि भारतले वृस्तृत रुपमा छलफल गर्न चाहेन । भारतले प्राविधिक काम सकिएपछि भविष्यमा त्यसबारे कुरा गर्न सकिने जवाफ दियो । तर, कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउनेबारे महत्वपूर्ण उपलब्धि भएको छ । भारतले नेपाललाई प्राथमिकतामा राखेर भ्याक्सिन दिने प्रतिवद्धता जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्