Logo

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री ज्ञवालीको किन भेट भएन ?



काठमाडौं, ३ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । उनले भ्रमणका क्रममा त्यहाँका रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकरसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

ज्ञवालीको महत्वपूर्ण भ्रमणमा भारतका विदेशमन्त्री जयशंकरसँग एक्ला एक्लै भेटवार्ता रह्यो । शुक्रबार विहान ज्ञवालीले गरेको उक्त भेटमा राजनीतिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण कुराकानी भयो । त्यसपछि दुई देशको संयुक्त आयोगको बैठक बसेर औपचारिक एजेन्डामाथि छलफल भएको थियो ।

आज विहान भारतका रक्षामन्त्री राजनाथ सिंहसँग ज्ञवालीले भेटवार्ता गरेका थिए । यो भेट औपचारिकतामै सिमित भयो ।

ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न चाहेका थिए । भेटका लागि नेपाली पक्षले पहल पनि गर्यो । तर, मोदीसँगको भेट्ने प्रयास सफल भएन । ज्ञवालीले मोदीलाई सिधै भेटी प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश दिन चाहन्थे । तर, त्यो सिधै नभई कुटनीतिक च्यानलमार्फत् मात्र भएको छ ।

मोदीसँग ज्ञवालीले भेट्न चाहनुमा ओलीको सिधा सन्देश पुर्याउने र वर्तमान सरकारलाई भारतको साथ रहेको सन्देश दिनु पनि रहेको थियो । तर, भारतीय पक्षले नेपालको राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी भारतले कुनै एक पक्षलाई समर्थन दिइरहेको सन्देश जानेकारण पनि सजकता अपनाएको बुझिएको छ ।

भारत नेपालको पछिल्लो घटनाक्रममा कुनै एक पक्षको साथमा देखिन चाहिरेहेको छैन । कतिपय नेपाल मामलाका जानकारहरुले भारत सरकारलाई यही सुझाव दिएका छन् । नेपाल मामलाकी जानकार जेएनयूकी प्राध्यापक संगिता थपलियालले भारतले कुनै पनि पक्षलाई साथ दिएको देखिननहुने सुझाव लेखमार्फत् दिएकी थिइन् । आखिर भारतले त्यही गर्यो ।

भारतीय प्रधानमन्त्री मोदी आज भारतले शुरु गरेको कोरोना खोपको विश्वकै ठुलो अभियानको शुरुवातको दिन भएकाले व्यस्त रहे । उनले विशेष सम्बोधनमार्फत् यसबारे जानकारी पनि दिए । यो व्यस्तताका कारण पनि भेट नहुने अवस्था बनेको बुझिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्