Logo

पूर्व सभामुख नेम्वाङले माधव नेपालमाथि पोखे आक्रोश



काठमाडौं, ३ माघ । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालप्रति आक्रोश पोख्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विगत देखि नै षड्यन्त्रमूलक गतिविधि गरेको आरोप लगाएका छन् । उनले नेपालमाथि अध्यक्ष बन्नका लागि ओलीमाथि षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।

‘केपीलाई कारबाही गरेर को अध्यक्ष हुने भो ?’ नेम्वाङले माधव नेपालतर्फ इंकित गर्दै नेकपा प्रदेश १ सम्पर्क मञ्चको काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा भने, ‘अध्यक्ष ओलीसँग केही समय अघि हार्नुभएको थियो, उहाँलाई निकालेर आफै अध्यक्ष हुनुभएछ । यो कस्तो सजिलो ?’

ओलीविरुद्ध अझै षड्यन्त्रमूलक गतिविधि भइरहेको नेम्वाङको भनाई थियो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव लिएर संसद पुनःस्थापनाको पक्षमा उभिन भनिएको समेत बताए । उनले नाम नलिई प्रचण्ड र माधव नेपालले केही दिन अघि भेटेर यस्तो प्रस्ताव लगेको विषय सञ्चारमाध्यममा आएको उल्लेख गरे ।

देश चुनावमा गइसकेको उनको भनाई थियो । उनले प्रचण्ड र नेपालमाथि प्रतिनिधि सभा बिघटनको अवस्था सृजना गरिएको बताए ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्