Logo

आरोपै आरोपले घेरिएका ओलीले दिए जवाफ, आफूलाई जोकर भनेकोमा गुनासो (भिडियोसहित)



माघ ३, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीमाथि पछिल्लो समय एकपछि अर्को आरोप खेपिरहनुपरेको छ । असवैधानिक बाटोबाट संसद विघटन गरेको आरोपसँगै अरु विभिन्न आरोप लाग्ने गरेको छ । सर्वोच्च अदालतदेखि निर्वाचन आयोगसम्म आफ्नो कब्जामा राखेर संविधानविपरितका काम गरेको आरोप उनलाई लाग्ने गरेको छ ।

संसद विघटनसम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेकै बेला त्यही मुद्धा हेरिरहेका न्यायाधीशरुसँगसमेत भेटेर प्रभावमा पार्न खोजेको आरोप पनि लागेको छ । तर यो आरोपको उनले खण्डन गरेका छन् । ओलीले आफूले अहिलेसम्म संसद विघटनको मुद्दामा रहेका कुनै पनि न्यायाधीशहरुलाई नभेटेको दाबी पनि गरेका छन् । त्यतिमात्र होइन, अहिलेसम्म नै न्यायाधीश नभेटेको र नचिनेको समेत दाबी गरे ।

प्रधानमन्त्री ओलीले आफूलाई मान्छे हसाउँने जोकर भन्दै नेताहरुले दिएको अभिव्यक्तिमाथि टिप्पणी गरेका छन् । प्रदेश नम्बर १ का कार्यकर्ता भेलामा प्रधानमन्त्रीले आफूले राम्रो काम गरेर जनतालाई खुशी पार्दा किन जोकर भन्ने ? भन्दै प्रश्न गरे ।

ओलीले नेकपाकै प्रचण्ड माधव समुहलाई लक्षित गर्दै मुलुकमा अराजकता, अनुशासनहीनता निम्त्याइएको आरोप लगाएका छन् । ओलीले नेपालका केही बुद्धिजीवी, राजनीतिज्ञ र जानकार हुँ भन्नेहरुले मुलुकका सम्मानित संस्थाहरुमाथि अपमान गर्ने, गाली बेइज्जती गर्ने काम गरेको बताएका हुन् । देशका राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत, निर्वाचन आयोग लगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेको उनले बताए ।

ओलीले प्रचण्डनेपाल समूहलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्कन आग्रह गरेका छन् । सूर्य चिह्नबाट एकपटक पनि चुनाव नलडेका प्रचण्डले अहिले सूर्य चिह्न मेरै हो भन्ने अधिकार नभएको पनि बताए । आफू र प्रचण्डबीच २०७४ असोज १४ गते सूर्यमै चुनाव लड्ने सहमति भए पनि दुई दिनमै उक्त सहमित तोडिएको उनको जिकिर छ ।

उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा कि बृहत् इजलासमा भन्नेमा विवाद गरेर अड्को थापिएको उनको आरोप छ । यस्तै उनले आगामी निर्वाचनबाट नै जनताले सही र गलतको फैसला गर्ने बताएका छन् । निर्वाचन नचाहनेहरू डराइरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्