Logo

सञ्चालनमा आउँदै उपत्यकाका विद्यालय



काठमाडौं, माघ ४। काठमाडौँ उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमण कम हुँदै गएको तथा सरकारले समेत चालू शैक्षिक सत्रलाई सदुपयोग गर्ने तयारी गरेअनुसार माघ पहिलो सातादेखि सबै विद्यालय सञ्चालनमा ल्याउन लागिएको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाले आइतबारदेखि सबै विद्यालय खोल्ने निर्णय गरेको नगरका शिक्षा शाखा प्रमुख मनोजकुमार ढकालले जानकारी दिए । भौतिक संरचना तथा विद्यार्थीको सङ्ख्याका आधारमा विद्यालय सञ्चालनबारे विद्यालयले थप निर्णय गर्ने जनाइएको छ ।

ललितपुर जिल्लाका धेरै स्थानीय तहले पनि आइतबारदेखि नै विद्यालय सञ्चालन गर्ने भएका छन् । ललितपुर महानगरपालिकाले गत महिनादेखि कक्षा सञ्चालन गर्न सक्ने गरी विद्यालयलाई बाटो खोलिदिएको छ ।

गोदावरी नगरपालिकाका शिक्षा प्रमुख देवीप्रसाद उपाध्यायले नगरपालिकाका विद्यालय आइतबारबाटै सञ्चालनमा आउने जानकारी दिए। स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्दै विद्यालय सञ्चालनमा ल्याउन भनिएको छ ।

नगरपालिकाले सामुदायिक विद्यालय सञ्चालनका लागि सहज होस् भनेर माध्यमिक विद्यालयलाई २५ हजार, कक्षा आठसम्म सञ्चालन भएका विद्यालयलाई १५ हजार र कक्षा पाँचसम्म सञ्चालन भएका विद्यालयलाई १० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

काठमाडौँका धेरै स्थानीय तहका विद्यालय पनि माघ पहिलो सातादेखि सञ्चालनमा आउँदै छन् । काठमाडौँ महानगरपालिकाले भने विद्यालय सञ्चालन गर्ने औपचारिक मिति घोषणा गरेको छैन ।

आइतरबार यस विषयमा छलफल गर्न बैठक बोलाइएको र त्यसले निर्णय गर्ने जानकारी महानगरपालिकाका सम्बद्ध अधिकारीले दिएका छन् । पहिलो साताभित्रै महानगरका विद्यालय सञ्चालन गर्ने योजना छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्