Logo

केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप



काठमाडौं, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको गम्भीर आरोप लगाएका छन् ।  आज काठमाडौंको बुद्धनगरमा आयोजित आफू पक्षधर राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् । त्यस्तै, प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरोधी नारा दिएपनि भ्रष्टाचारीलाई संरक्षण गरेको पनि दाहालको गम्भीर आरोप छ ।

त्यस्तै, दाहालले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् । उनले संसद् विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको आरोप लगाए । उनले भने,‘अहिले देश तनाबमा छ । संविधानको चिन्ता छ । यस्तोमा हामी हाँस्न सक्दैनौं ।’ उनले ओलीले प्रतिक्रियावादीहरुसँग साँठगाँठ गरेर संसद् विघटन गरेको पनि आरोप लगाए ।

उनले पार्टीले प्रधानमन्त्री बनाएको हुनाले पार्टी निर्णय नमानेपछि ओलीलाई अनुशासनको कारवाही गर्नसक्नेपनि सम्झाए । उनले भने,‘तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन। त्यसो हुँदो हो त हाम्रो २७५ जना नै प्रधानमन्त्री हुन्थे। एउटै मात्रै प्रधानमन्त्री हुन्थ्यो त? सबै निर्वाचित सांसद हुन्। सबै प्रधानमन्त्री हुँदैन। तपाईंलाई पार्टीले प्रधानमन्त्री बनायो। चाहेपछि झिकिदियो। अनुशासनमा राख्ने र नसके कारवाही गर्ने भन्ने तपाईंलाई थाहा थियो ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्