Logo

कोरोनाबीच पर्यटनमा लगानी आकर्षण



काठमाडौं, माघ ५। कोरोना सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित भए पनि नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने विदेशी चासो घटेको छैन । विषम परिस्थितिमा पनि पर्यटन क्षेत्रमा १५ अर्ब रुपियाँभन्दा बढी लगानी गर्ने गरी प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागका अनुसार आइतबारसम्म पर्यटन क्षेत्रमा १५ अर्ब ४६ करोड रुपियाँ लगानी गर्ने प्रतिबद्धता विदेशी लगानीकर्ताबाट प्राप्त भएको छ । पूर्ण रूपमा पर्यटन क्षेत्र खुल्न नसकेको स्थितिमा पनि करिब दुई हजारलाई रोजगारी दिने लक्ष्यसहित सो बराबरको प्रतिबद्धता प्राप्त भएको विभागको तथ्याङ्क छ ।

पर्यटनपछि लगानीकर्ताको आकर्षण सेवा क्षेत्रमा देखिन्छ । आइतबारसम्म पाँच अर्ब ५० करोड लगानी प्रतिबद्धता सेवा क्षेत्रलाई प्राप्त छ । त्यसपछि सूचना प्रविधिको क्षेत्रमा दुई अर्ब ५० करोड रुपियाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ । कोरोना सङ्क्रमणका कारण सूचना प्रविधिको प्रयोग बढिरहेको समयमा खासगरी सफ्टवेयर निर्माणलाई प्राथमिकतामा राखेर विदेशी लगानीकर्ताको रोजाइमा नेपाल परेको छ ।

उत्पादनमूलक, कृषि र ऊर्जाको क्षेत्रमा भने विदेशी लगानी प्रतिबद्धता निकै कम मात्र आएको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार यी क्षेत्रमा आइतबारसम्म क्रमशः ५२ करोड ६४ लाख, ३७ करोड ९० लाख र ५८ लाख रुपियाँ मात्र विदेशी लगानी प्रतिबद्धता प्राप्त छ ।

चालू आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्म नेपालले करिब साढे २३ अर्ब रुपियाँको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको छ । उद्योग विभागका अनुसार उक्त अवधिसम्म विदेशीले २३ अर्ब ४७ करोड रुपियाँ लगानी गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।

नेपालमा लगानी प्रतिबद्धता जनाउनेमा चीन सबैभन्दा अघि रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्