Logo

निर्वाचन आयोगले चुनावको तयारी गर्ने कि नगर्ने ? : आनन्द ढुंगाना



काठमाडौं, ५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता आनन्दप्रसाद ढुंगानाले निर्वाचन आयोगले बोलाएको छलफलमा आफूहरु पनि सहभागी भएको स्पष्ट पारेका छन् । आयोगले निर्वाचन कार्यतालिकाबारे छलफल गर्दा त्यसमा सहभागी हुनु नराम्रो कुरा नभएको उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आयोगले सरकारको निर्देशनअनुसार निर्वाचनको तयारी गर्नु सामान्य कुरा भएको पनि तर्क गरे । हिजोको छलफलमा नेकपाका दाहाल–नेपाल समूहका नेताहरु पनि सहभागी भएको ढुंगानाले जनाए । संसद विघटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगलाई सोधेको कि नसोधेको ? भनेर दाहाल–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले सोधेको पनि उनले सुनाए ।

आयोगको छलफलमा सहभागी सबै नेताहरुले निर्वाचनमा जाने करा गरेको पनि उनले सुनाए । प्रधानमन्त्री ओलीले गैरसंवैधानिक कदम चालेको भन्ने अडान यथावत रहेको उनको भनाई छ । भोलि संसद विघटनलाई अदालतले मान्यता दियो र चुनावको पक्षमा फैसला आयो भने निर्वाचनको लागि त समय चाहिने भएकोले अहिलेदेखि नै आयोगले तयारी गर्नु स्वभाविक भएको उनको आशय छ । निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने उनको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्