Logo

सम्झौता म्याद अगावै स्वास्थ्य केन्द्रको भवन हस्तान्तरण



टिस्टुङ, ६ माघ: मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा ठेक्का सम्झौताको म्याद अगावै आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बकैया गाउँपालिका–३ हात्तीसुँढेमा निर्माण गरिएको चारकोठे स्वास्थ्य केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

भवन निर्माणको ठेक्का पाएको विवेक विनिता निर्माण सेवाले बकैया–३ को स्वास्थ्य केन्द्रको भवन सम्झौताको म्यादभन्दा एक महिनाअगावै निर्माण गरेको थियो । निर्माण कम्पनीका प्रमुख राजनप्रसाद बोलखेले भने, “हामीले पुसको २० गते नै निर्माण सम्पन्न भएको जानकारी दिएका थियौँ, सम्झौताअनुसार भवन निर्माणको म्याद भने माघ २० गतेसम्मका लागि रहेको छ ।”

गत भदौ २९ गते एकै दिन बकैया गाउँपालिका–३ र ७ को आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरिएको थियो । यो अवधिमा दशैँ–तिहारजस्ता चाडपर्व परे पनि निर्माण कम्पनीले तीव्ररुपमा काम अघि बढाएको थियो । वडा नं ७ को भवन पनि निर्माणको अन्तिम चरणमा पुगेको बोलखेले बताए ।

बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले गाउँपालिकाका सबै नागरिकलाई आधारभूत स्वास्थ्यको पहुँचमा पुर्याउन प्रत्येक वडामा एक–एक आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भइरहेको बताए । चालु आर्थिक वर्ष २०७७-७८ को गाउँपालिकाको बजेटबाट काम गर्ने गरी सबै भवनको ठेक्का विवेक विनिता निर्माण सेवाले पाएको थियो । गाउँपालिकाको रु २७ लाख बजेटमा १२ पिलरको चारकोठे भवन निर्माण गरिएको निर्माण सेवाका प्रमुख बोलखेले जानकारी दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्