Logo

पौडेललाई देउवाको प्रस्ताव : १ नम्बर र बाग्मती प्रदेशमा ओलीसँग मिलेर सरकार बनाऔं



काठमाडौं, ६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्नुपर्ने प्रस्ताव राखेका छन् । हिजो (सोमबार) सभापति देउवा पौडेललाई भेट्न बोहराटार पुगेका थिए । दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको बताईएपनि देउवाले प्रदेश नम्बर १ र बाग्मती प्रदेशमा ओलीसँग मिलेर सरकार बनाउनुपर्नेबारे प्रस्ताव राखेका थिए ।

तर, जवाफमा पौडेलले संसद विघटन गरेर ओलीले असंवैधानिक कदम चालेकोले अहिले ओलीसँग सहकार्य गर्न नसकिने बताएका थिए । देउवाले पौडेललाई ओलीसँग सहकार्य गर्नुपर्नेबारे कन्भिन्स गरेका थिए । देउवाको प्रस्ताव थियो,‘नेकपाको कुरा गर्दा ओली नै हाम्रा नजिक छन्, प्रचण्ड र माधव नेपाल धोकेबाज हुन्, प्रचण्डले त हामीलाई धोका नै दिईसकेको कुरा यहाँलाई थाहै छ, त्यसैले अहिले हामीले ओलीसँग सहकार्य गरेर जार्नुपर्छ । प्रदेश नम्बर १ र बाग्मती प्रदेशमा ओलीसँग मिलेर सरकार बनाऔं ।’ प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपा दाहाल–नेपाल समूहका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराईसकेका छन् ।

तर, रामचन्द्रले अहिले त्यस्तो निर्णय र सहमति नगर्न देउवाको ध्यानाकार्षण गराए । उनले भनेका थिए,‘अहिले कुनैपनि काम नगरौं । अहिले ओलीसँग सहकार्य गर्न सकिँदैन् ।’ प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिसँगै कांग्रेस दुई पक्षमा विभाजित बनेको छ । देउवा चुनावमा जानुपर्ने र ओलीविरुद्ध आन्दोलन नगर्ने पक्षमा उभिएका छन् भने पौडेल पक्ष आन्दोलन चर्काउने पक्षमा छ । यसैबीच कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बोलाईएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्