Logo

ओली-प्रचण्ड शितयुद्ध चर्कियो, मुलुकमा ठुलो मुठभेडको खतरा



काठमाडौं, ६ माघ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहँदै पक्ष विपक्षबीच धम्कीको राजनीति शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको दाहाल नेपाल समूहका अध्यक्षहरु प्रचण्ड र माधवकुमार नेपालले मुठभेडको भाषा प्रयोग गर्न थालेका छन् । अहिले शितयुद्धको अवस्था उत्कर्षमा पुगेर मुठभेडमा पुग्ने अवस्था बन्दै गएको छ ।

प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा रहेका न्यायाधीसहरुलाई भेटेको खुलासा भएपनि उनले त्यसलाई अस्वीकार गरेका छन् । मुद्दालाई प्रभावित पार्न खोजेको आरोप ओलीमाथि छ । निर्वाचन आयोगलाई समेत प्रभावित पारेर निर्णय आफ्नो पक्षमा ल्याउन लागिपरेको आरोप लागेको छ ।

ओलीमाथि दबाब बढाउन प्रचण्ड र माधवकुमार नेपालले पनि आँधीबेहरी ल्याउने चेतावनी दिइसकेका छन् । संविधान बचाउन प्रतिनिधि सभाको पुनःस्थापनाको विकल्प छैन र यसका लागि जुनसुकै कठोर कदमका लागि तयार हुनुपर्छ भन्ने सन्देश प्रचण्डले दिइरहेका छन् । उनले गणतन्त्र जोगाउन जुनसुकै मूल्य चुकाउने चेतावनी दिएबाट देशमा ठुलै मुठभेडको खतरा बढेर गएको छ । पार्टी कार्यकर्तालाई आक्रामक बन्न निर्देशन दिएका छन् ।

प्रचण्डले अब आन्दोलन शाकाहारी नहुने भनेका छन् । आइतबार युवाविद्यार्थीको भेलालाई सम्बोधन गर्दै सिंह जस्तै गर्जने गरी आन्दोलन गर्ने बताए । लाठी खान पनि आफू तयार हुने बताए । माधवकुमार नेपालले सुनामी ल्याउने चेतावनी दिइसकेका छन् । उनले अब आन्दोलनको आँधीबेहरी ल्याउने भनेका छन् । प्रचण्डले ओलीका कारण गणतन्त्र नै सखाप हुने देखेर जीवन र मरणको लडाईं लड्ने सन्देश दिएका छन् । उनको पछिल्लो अभिव्यक्ति लाठी खान तयार रहेको र मर्न तयार रहेको सम्मको छ । यो आफैमा ठुलो मुठभेडको संकेत हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot